क्यान्सर पीडित पूर्वपिएलए तामाङलाई मकवानपुरबाट ३ लाख ४५ हजार सहयोग
हेटौंडा । पूर्वजनमुक्ति सेना (पिएलए) नेपालका कम्पनी कमान्डर नैनबहादुर तामाङ (जमिन) लाई जनयुद्धमा सँगै लडेका मकवानपुरका सहयात्री तथा नेताहरुले उपचार सहयोग गरेका छन् ।
जनयुद्धको क्रममा बमको छर्रा लागेको ठाउँमा क्यान्सर भई मृत्युसँग लडिरहेका सिन्धुपाल्चोक सुनकोसीका ४२ वर्षीय तामाङलाई ३ लाख ४५ हजार रुपैयाँ सहयोग गरिएको हो । उनको काठमाण्डौंस्थित कोठामा पुगेर स्वास्थ लाभको कामना गर्दै बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लान, वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, पूर्वजनमुक्ति सेना एवं नेकपा मकवानपुरका युवा नेताहरू जीवन लामा, सुमन पाख्रिन,अरुण बल, मनोज बल, विष्णु नेगी, अशोक न्यासुर लगायतकाले आर्थिक सहयोग गरेका हुन् ।
वाग्मती गाउँपालिका अध्यक्ष घलानले एक महिनाको तलव र अन्य नेताहरुबाट रकम संकलन गरी तामाङलाई उपचार सहयोग गरिएको हो । बिरामी तमाङले सहयोगी दाताहरुप्रति आभार ब्यक्त गरेका छन् ।
चैनपुर, भिमान, रुम्जाटार सहित एक दर्जन मोर्चामा प्रत्यक्ष लडेका उनी २०६० माघमा भोजपुरको दूरसञ्चार रिपिटर टावरमा आक्रमण गर्दा मुखछेउ छर्रा लागेर घाइते भएका थिए । त्यही छर्राले गर्दा अहिले उनको मुखको क्यान्सर भएको हो । उनको मुखको देब्रे भागको चिउँडो छैन । देब्रे आँखाले काम गर्दैन । १८ महिनायता बिस्कुट पानीको भरमा तामाङले जीवन धानिरहेका छन् ।

बाइलाइन नेपाल











