नारायणगढ–मुग्लिन सडकमा उपभोग दस्तुर लाग्ने

बाइलाइन नेपाल
१६ श्रावण २०७७, शुक्रबार ०७:११

नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ–मुग्लिन सडक खण्ड प्रयोग गरेबापत सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उक्त सडक खण्डमा हलुका सवारी साधनको २५ रुपियाँ र भारी सवारी साधनको ५५ रुपियाँका दरले सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गरिएको हो ।मोटरसाइकल र स्कुटरको हकमा सडक उपभोग दस्तुर लाग्ने छैन । मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सो जानकारी दिए ।

साउन १२ गते बसेको मन्त्रिपरिषद्ले गरेको सो निर्णय यही भदौ १ गतेबाट लागू हुनेछ । सो सडक खण्डको नियमित मर्मत सम्भार गर्न बजेटको अभाव नहोस् भन्ने उद्देश्यसहित सडक उपभोग दस्तुर लागू गरिएको सडक विभागले जनाएको छ । मुग्लिन र नारायणगढको बीचमा ढाँट राखेर यो दस्तुर सङ्कलन गरिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*