कम्युनिष्ट सरकारलाई कांँग्रेस नेता बानियाँको चुनौतीः परेवाभिरमा बाटो म बनाउँछु
हेटौंडा । वाग्मती प्रदेशमा दुई तिहाइभन्दा धेरै मतका साथ सरकार सञ्चालन गरिरहेको कम्युनिष्टहरुलाई काँग्रेस नेता इन्द्र बानियाँले चुनौती दिएका छन् । पश्चिम मकवानपुरको आवतजावत गर्ने मुख्य मार्गमा पर्ने राक्सिराङ गाउँपालिका–५ स्थित परेवाभिरमा मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती सरकारले सडक बनाउन नसक्ने बताएपछि कम्युनिष्ट मकवानपुरमा अहिले विवाद भइरहेको छ । कम्युनिष्टहरु गुटबन्दीमा लागेर सामाजिक सञ्जालमा एकले अर्कालाई गाली गरिरहेको समयमा प्रमुख प्रतिपक्ष कांग्रेसले भने सरकारले सडक नबनाए आफुले बनाउने घोषणा गरिरहेको छ ।
परेवा भिरको विषयमा कम्युनिष्ट मकवानपुरमा गुटगत रुपमा आरोपप्रत्यारोपमा उत्रिएको समयमा काँग्रेस नेता बानियाँले परेवा भिरमा सडक निर्माण गर्ने घोषणा गरेका हुन् । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङ–५ स्थित परेवाभिरमा सडक प्रदेशले नबनाए व्यक्तिगत लगानीमा बनाउने घोषणा गरेका छन् । आज बुधबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा आयोजना गरेर बानियाँले प्रदेश सरकारलाई नै चुनौती दिँदै सरकारले नबनाएमा आफुले निर्माण गर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने– ‘परेवाभीर मेरो निर्वाचन क्षेत्रमा पर्छ । त्यसक्षेत्रको समृद्धिका लागि आफ्नोतर्फबाट सदैव प्रयास गर्छु ।प्रदेश सरकारलाई उक्त स्थानमा बजेट हाल्न प्रयास गर्नेछौं । तर, सरकारले बजेट विनियोजन नगरेको खण्डमा आफ्नो व्यक्तिगत लगानीमा बाटो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।सरकारले बजेट नहाल्दैमा सडक नबन्ला कि भनेर चिन्तित नहुन त्यस क्षेत्रका जनतामा आग्रह गर्दछु ।’
उनले परेवाभिरको विकल्प नरहेको उल्लेख समेत गरेका छन् । उनले गाउँपालिकाले डीपीआर बनाइसकेको अवस्था टेण्डर प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेका छन् । राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभीरबाट सडक बनाउनु परेको उनको भनाइ थियो । त्यहाँका जनता गाँजाको भरिया बनेको भरमा जेल जानुपर्ने अवस्था आएको बताउँदै जनतालाई अवैध गाँजा खेतीको विकल्पमा अन्य खेती प्रणालीमा जोड्न सडक सञ्जाल आवश्यकता रहेको बताए ।
पत्रकार सम्मेलनमा उपसभापति विष्णु लामिछाने, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलगायतको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











