विकास निर्माणको काममा थाहा नगर अब्बलः मुख्यमन्त्री डोरमणि पौडेल

बाइलाइन नेपाल
१४ श्रावण २०७७, बुधबार १४:१०

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका बजेटहरुबाट सञ्चालन भएका योजनाहरु प्रभावकारी भएको बताएका छन् । वाग्मती प्रदेशबाट थाहानगरका लागि विनियोजित बजेटले सञ्चालन भएका योजनाहरु नतिजामुखी भएको समेत मुख्यमन्त्री पौडेलले बताए । मुख्यमन्त्रीसहितको टोलीले थाहानगरका योजनाहरु अनुगमनपछि उनले थाहा नगरपालिका विकास निर्माणको काममा अरुभन्दा अब्बल रहेको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले थाहा स्मारक पार्क, थाहा शितभण्डार, थाहा बसपार्क, आँखा उपचार केन्द्र लगायतको टोलीले अनाुगमन गरेको थियो । थाहा नगरपालिका पर्यटकीय नगर भएकोले यहाँको पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक पार्कले महत्वपूर्ण हुने मुख्य मन्त्री पौडेलले बताए । गत आर्थिक वर्षबाट मात्र निर्माण प्रारम्भ भएको पार्कको लागि स्रोत व्यवस्था गरेर छिटै निर्माण सकेर आम्दनीको स्रोतको रुपमा अघि बढाउन मुख्य मन्त्री पौडेलले सुझाव दिए ।

थाहा स्मारक पार्क परिसरमा संचालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’ लाई तत्काल संचालन गर्नको लागि नगरपालिकालाई आग्रह गरे । पर्यटन प्रवद्र्धनमा नगरले प्रभावकारी योजना संचालन गरेको र यसलाई पूर्णता दिन आफ्नो तर्फबाट सहयोग हुने मुख्यमन्त्री पौडेलले बताए ।

‘बसपार्क निर्माण एप्रोज’ प्रशंसनीय

थाहा नगरपालिकाले निर्माण थालेको ‘बसपार्क निर्माण एप्रोज’ अरुका लागि सिकाइको केन्द्र भएको वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले बताएका छन् । वाग्मती प्रदेशको सहयोगमा थाहा नगरपालिका वडा नम्बर ४ थानाबजारमा निर्माण थालिएको बसपार्क अनुगमनपछि मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

थाहा बसपार्क निर्माणका लागि निर्माणस्थलसम्म पुग्नका लागि बनाइएको सडक स्थानीयले नै सहयोग गरेका हुन् । नगर प्रमुख लवशेर विष्टले भने–‘बढि जग्गा हुनेले कमी हुनेलाई जग्गा दिएर बाटो बसपार्क पार्कसम्म पु¥याएको छ, यो विकासको जस स्थानीय नै हुन् ।’ एक इन्च जग्गाको कारण वर्षैसम्म मुद्दा चल्ने गरेको प्रसंग कोट्याउँदै मुख्यमन्त्री पौडेलले थाहाका नागरिक र जनप्रतिनिधिको काम प्रंशनियय भएको बताए । विकासमा जनताको यो सहभागीता दिगो विकासको आधार भएको उनले संज्ञा दिए । पौडेलले भने–‘जो पायो उस्ले यो एप्रोजमा विकास गर्न सक्दै सक्दैन ।’ अनुमानित ७ करोड लागत रहेको बसपार्क निर्माणका लागि बजेट अपुग भएको नगर उपप्रमुख खड्ग गोपालीले बताए । बसपार्क गत आर्थिक वर्षबाट निर्माण थालिएको हो ।

थाहाको अर्थतन्त्र उठाउन ‘शितभण्डार’

थाहा नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको थाहा शितभण्डारको वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईँ सहितको टोलीले अनुगमन गरेका छन् । टोलीमा मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

अनुगमनमा प्रदेश प्रमुख प्रसाईँले थाहानगरको मुख्य आर्थिक स्रोतको रुपमा रहेकाले थाहानगरको अर्थतन्त्र उठाउन शितभण्डारले ठूलो मद्दत पु¥याउने धारणा राखे । मुख्यमन्त्री पौडेलले प्रदेशका अन्य जिल्लाहरुमा पनि शीतभण्डारको काम भइरहेकोमा थाहाको काम द्रुत रहेको उल्लेख गरे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बन्नु प्रभावकारी काम भएको बताए । उनले थाहानगरले सञ्चालन गरेको योजनाहरुको प्रशंसा गरे । अनुगमनकै क्रममा शितभण्डार निर्माण भएपनि अन्य उपकरणको अभाव रहेको नगर प्रमुख लवशेर विष्टले बताए । यसका लागि सबै निकायबाट सहयोग गरिदिन अपील गरे ।

आँखा उपचार केन्द्र प्रभावकारी

थाहा नगरपालिकामा सञ्चालन भएको आँखा उपचार केन्द्र प्रभावकारी भएको मुख्यमन्त्री पौडलेलले बताएका छन् । प्रदेश अन्तर्गतका बजेटबाट सञ्चालन भएका योजनाहरु अनु्गमनको क्रममा थाहानगर आइपुगेका पौडेलले आँखा उपचार केन्द्रको विषयमा जानकारी लिएपछि यस्तो बताएका हुन् ।

वि.सं. २०७५ फागुनमा आफैले उद्घाटन गरेको आँखा उपचार केन्द्रको सेवा प्रवाह बुझ्नको लागि मुख्यमन्त्री पौडेल उपचार केन्द्रमै पुगेका थिए । उनले सेवा प्रवाहको विषयमा उपचार केन्द्रका प्रमुखसंग जानकारी लिएका थिए । आँखा उपचार केन्द्रको पूर्वाधार विकासमा नगरले गरेको कामको जिल्ला समन्वय प्रमुख खुलालले प्रशंसा गरे । प्रमुख खुलालले भने–‘आँखा उपचारकै लागि काठमाण्डौ हेटौंडा पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने थाहानगरको कार्य जनमैत्री र जनमुखी छ ।’

सहकारीकै भावनामा चलाउनुस, सहयोग गर्छौ’

मुख्यमन्त्री पौडेलले थाहानगरका सहकारीहरुलाई आफ्नो उद्देश्य अनुसार संचालन गर्न सुझाव दिएका छन् । सहकारी पैसा कारोबार गर्ने संस्था नभएकोले यसले उत्पादनमा पनि जोड दिनु अहिलेको आवश्यकता रहेको औल्याए । प्रदेश सहकारी ऐन बनिसकेकोले त्यसलाई पनि अवलम्बन गर्न मुख्यमन्त्री पौडेलको सुझाव थियो । थाहा नगरपालिकाको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हलमा संक्षिप्त छलफलमा मुख्य मन्त्री पौडेलले भने–‘ उद्देश्य र नीति अनुसार काम गर्नुहोस् हामी सहयोग गर्छौ ।’

सहकारीले तरकारीको बजारिकरणमा मात्र काम गर्न सकेपनि ठूलो प्रगती हुने मुख्यमन्त्री पौडेलका प्रमुख स्वकीय सचिव अनुप पौडेलले बताए । प्रत्येक स्थानीय तहमा तरकारी बजार बनाउने प्रदेशको नीति नै रहेकोले स्थानीय तहका सहकारीहरु यसतर्फ अग्रसर हुनुपर्ने पौडेलको धारणा रहेको थियो । उनले भने–‘तपाई सहकारीहरु काम गर्न तयार हुनुस्, एक अर्को स्थानीय तहसंग एम।ओ।यु। गर्नको लागि हामी सहजीकरण गर्छौ, सबै मिलेर उत्पादक र उपभोक्ताको दुरी छोट्याऔं ।’ लकडाउनका बेला केही दिन सहकारीहरुले तरकारीको मार्केटिङ गरेकोमा दीर्घकालिन हुन नसकेको बताउँदै यसको व्यवस्थापनका लागि योजनावद्ध रुपमा अघि बढ्नुपर्ने उनको भनाई थियो ।

थाहानगरको त्रिवेणी धामको निर्माणाधिन अवस्थाको समेत अनुगमन भएको कार्यक्रम तथा विभिन्न छलफलमा सहभागी प्रदेश प्रमुख विष्णु प्रसाईँ, मुख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललगायतकाले थाहा नगरपालिकाको विकास कार्य गर्ने तौर तरिका तथा कार्यान्वयन विधि प्रभावकारी भएको बताए । उनीहरुले योजना अनुगमनसंगै दीगो र सम्वृद्धिसंग जोड्ने थाहाको प्रयासको प्रशंसा गरे । अनुगमनमा थाहा नगरपालिकाका नगर प्रमाुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, वडा अध्यक्षहरु, विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।-साभारः थाहा टाइम्स डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*