प्रहरीले बरामद गरेको १५ किलोमध्ये आधा किलो मात्र सक्कली सुन
राजधानीको दरबारमार्गबाट प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली भएको पाइएको छ ।प्रहरीका अनुसार बरामद गरिएको सुनमध्ये साढे १४ किलो नक्कली भएको पाइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले सुन परीक्षण गर्दा नक्कली पाइएको बताए ।
मंगलवार प्रहरीले शंकास्पद व्यक्तिको पिछा गर्दै जाँदा सुनजस्तै देखिने १५ किलो वस्तु र दुई पेस्तोल बरामद गरेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरु झोला छोडेर भागेको प्रहरीले बताएको थियो ।
गाडीमा भागेका व्यक्ति भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको छ । फरार व्यक्तिको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।

बाइलाइन नेपाल











