माडिका चेपाङलाई १ महिनाभित्र घर निर्माण गर्न प्रचण्डको निर्देशन
चितवन राष्ट्रिय निकुञ्जले आगो र हात्ती लगाएर चेपाङको घर ध्वस्त पारेपछि नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ महिना भित्र घर निर्माण गर्न निर्देशन दिएका छन् । सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिसमेत रहेका प्रचण्डले माडी नगरपालिका कार्यालयलाई १ महिनाभित्र माडि-९ कुसुमखोलाका विस्थापित चेपाङको लागि सुरक्षित आवास (घर) निर्माण गर्न निर्देशन दिएको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बताइन् ।
आइतबार कुसुमखोलास्थित चेपाङबस्तीको स्थलगत निरीक्षण गर्दै प्रमुख दाहालले एक महिनाभित्र घर निर्माण गर्न निर्देशन आएको बताइन् । उनले निकुञ्जबाट चेपाङहरुमाथि अमानवीय व्यवहार भएको भन्दै दुःख व्यक्त गरेकी छन् । सरकारद्धारा गठित छानबिन समितिलाई छिटो सत्यसत्य छानबिन गर्न मागसमेत गरिन् ।
माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले प्रचण्डको निर्देशन अनुसार १ महिनाभित्र चेपाङहरुको लागि सुरक्षित बसोबासको लागि आसावको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।मानव अधिकारवादी संस्था फ्यानको राहत वितरणको लागि नगर प्रमुख दाहाल, माडी नगरपालिका प्रमुख ढकाल चेपाङवस्तीमा पुगेकी हुन् । संस्थाले कुुसुमखोलका विस्थापित चेपाङलाई चामल, नुन, दाल र अस्थायी बसोबासको लागि त्रिपाल सहयोग गरेको छ ।
निकुञ्जले ४ साउनमा २० वर्षीय युवा दानबहादुर प्रजा र उनका फुपाजु पर्ने दीपबहादुर चेपाङको घर आगो लगाएको थियो । नगरपालिकाले फागुनमा ९ नं. वडाको राइटोलमा कुसुमखेलाका चेपाङलाई स्थानान्तरण गर्ने तयारी गरिरहेको बेला निकुञ्जले आगो लगाएर विस्थापित पारेको नगर प्रमुख ढकालले बताएका छन् । निकुञ्जले हाती लगााएर घर पनि भत्काएको थियो । कुसुमखोलामा १० घर परिवार चेपाङ बसोबास गर्छन् ।

बाइलाइन नेपाल











