मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

बाइलाइन नेपाल
११ श्रावण २०७७, आईतवार ०८:०७

जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।संविधानमा मालपोत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख छ । यस अघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन सम्बन्धी तथा भू–सेवा सम्बन्धी काम स्थानीय तहले गर्नेछन् । मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँंका नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौंँ महानगरका वडा १३, १४ र १५ का पाँच÷पाँच कर्मचारीलाई जग्गा प्रशासन र भू–सेवा सम्बन्धी तालिम प्रदान गरेको छ ।

उक्त पाँचवटा नगरपालिकाका पाँच÷पाँच कर्मचारीलाई तालिमको प्रमाणपत्र प्रदान गरी सेवा स्थानीय तहलाई हस्तान्तरण प्रक्रिया सुरु गरिएको कलङ्की मालपोत कार्यालयले जनाएको छ । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संविधानमा उल्लिखित अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया कलङ्की मालपोत कार्यालयबाट सुरु भएको बताए ।

उनले जग्गा प्रशासन र भू–सेवा सम्बन्धी काम स्थानीय तहमा हस्तान्तरण भएसँगै संविधानमा उल्लिखित अधिकार, सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्ने कार्य सुरु भएको बताए ।कलङ्की मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज अर्यालले मालपोतको अधिकार स्थानीय तहमा गइसकेपछि मालपोत कार्यालयले नियमित रूपमा स्थानीय तहको काममा समन्वयको काम गर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*