पर्यटकीय स्थलको प्रचार गर्न भीमफेदी पुग्यो हेटौंडा राईडर्स क्लब
हेटौंडा । मकवानपुरका जिल्लाको विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारमा लागेको हेटौंडा राईर्डस क्लब आज भीमफेदी गाउँपालिका पुगेको छ । साइकल यात्रा मार्फत् पर्यटकीय तथा धार्मिक स्थलमा पुगेर त्यसको प्रचारप्रसारमा सहयोग पर्याउँदै आएको क्लबका सदस्यहरु आज हेटौंडाबाट साइलक यात्रा गर्दै भीमफेदी पुगेका हुन् ।
मकवानपुरको ऐतिहासिक स्थल मध्येको एक रहेको भीमफेदीको पर्यटकीय, ऐतिकासिक र धार्मिक स्थलको प्रचारप्रसारमा सहयोग पुर्याउन क्लबका ५० जना सदस्यको टोली भीमफेदी गाउँपालिकाको केन्द्र भीमफेदी बजार पुगेका हुन् । उनिहरुलाई भीमफेदी गाउँपालिका कार्यालयले स्वागत गरेको थियो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती रानासहितका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।

भीमफेदी पुगेका क्लबका सदस्यहरुसँग गाउँपालिका अध्यक्षसहितको टोलीले पर्यटकीय स्थलहरुका बारेमा छलफल गरेको थियो । सबैको सहकार्यमा कसरी पर्यटकीय स्थलको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्यउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । पर्यटकीय स्थलको पहिचान, त्यसको संरक्षण र प्रचारप्रसारमा गाउँपालिका कार्यालयले बनाएको योजना तथा कार्यक्रमका बारेमा अध्यक्ष लामाले जानकारी गराएका थिए ।

क्लबका अध्यक्ष विकास ताम्राकारको नेतृत्वमा भीमफेदी पुगेको साइकल यात्रीको टोलीले पर्यटकीय स्थलको प्रचारप्रसारमा क्लब सधै सहकार्यका लागि तयार रहेको बताएका थिए । क्लबको टोलीलाई भीमफेदीको ऐतिकासिक, पर्यटकीय र धार्मिक परिचयसहितको हाते पुस्तिका प्रदान गरिएको थियो । टोलीलाई गाउँपालिकामा रहेका पुरातात्त्विक पहिचान, मन्दिर, गुम्बा, राणाकालिन संरचना र वातावरण सम्बन्धि वृतचित्र प्रदर्शनका साथै स्थलगतअवलोकन पनि गराइएको थियो ।

बाइलाइन नेपाल











