टाटासुमोको मनलाग्दीः हेटौँडा-काठमाडौंको भाडा ३ हजार !
संघीय राजधानी काठमाडौं र प्रदेशको मुकाम हेटौंडाको न्यूनतम भाडा दर ४५० हो । लकडाउन अघिसम्म ४५० भाडा तिरेर यात्रुहरू काठमाडौं आवतजावत गर्थे ।तर, टाटासुमोहरूले लकडाउनमा गाडी थन्किएर व्यहोरेको घाटा यात्रुसँग उठाउन थालेका छन् । लकडाउन खुलेसँगै सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै हेटौँडाबाट काठमाडौं चल्ने टाटासुमो पनि सञ्चालनमा आएका छन् । सञ्चालनमा त आए, यात्रुहरूको लागि ‘ठग’ भएर ।
यात्रुहरूको ढाड सेक्ने गरी टाटासुमोहरूले ३ हजारसम्म भाडा असुली गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरीले यात्रुले बढी भाडा असुली गरेको गुनासो गरेपछि ‘एक्सन’ देखाएको छ । आज शुक्रबार मात्रै ४ वटा टाटासुमो प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू भाडाको सुमो रहेको प्रहरीले जनाएको छ ।
‘यात्रुसँग २ हजारदेखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको छ । यात्रुहरूले गुनासो गर्न थालेपछि हामीले एक्सन लिएका थियौँ । ४ वटा टाटासुमोलाई नियन्त्रणमा लिएर कारबाही गरेका छौँ,’ मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले भने, ‘टाटासुमोहरूले न्यूनतम भाडामा करिब डेढ प्रतिशत वृद्धि गर्न सक्छन् । तर, ३ हजार लिनु गैरकानुनी हो ।
प्रहरीको छड्के चेकिङमा प्र ३–०३–००१ ज–००२८, प्र ३–०३–००१ ज–१८, ना १ ज २५०५ र ना १ ज ७३१८ नम्बरको टाटासुमोलाई नियन्त्रणमा लिएको हो । प्रहरीले प्रत्येक यात्रुको भाडा फिर्ता गराएको छ । चालकहरूलाई कारबाही गरी छोडिएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।
हेटौँडाबाट नियमित सञ्चालनमा आउने दर्जनभन्दा बढी टाटासुमो काउण्टर भने हालसम्म पनि सञ्चालनमा आएका छैनन् । लकडाउनअघि हेटौँडा–कुलेखानी–काठमाडौंको छोटोमार्ग हुँदै सयौँ टाटासुमो दैनिक आवतजावत गर्ने गरेका थिए । टाटासुमोमा काठमाडौंको यात्रा छिटो हुने भएपछि तराईदेखि चितवनसम्मका यात्रु छोटोमार्ग हुँदै जाने गरेका थिए ।

बाइलाइन नेपाल











