सुपारेटार ब्यारेक नजिक पहिरो गएपछि सडक अवरुद्ध
हेटौंडा । पहिरोले पृथ्वी राजमार्ग ठप्प भएपछि काठमाडौं आवतजावत गर्ने एउटै मात्र वैकल्पिक मार्ग त्रिभुवन राजपथ पनि अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि केही दिनदेखि काठमाडौं आवतजावत गर्ने सवारीसाधन त्रिभुवन राजपथ हुँदै सञ्चालनमा आएका थिए । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–१ खेप्लाङस्थित सुपारेटार ब्यारेकनजिक आज साँझ पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
प्रहरी चौकी चौकिटोलका असई हम बहादुर गोजारका अनुसार करिब ७ बजेर ३० मिटेनमा ब्यारेकसँगै रहेको मन्दिरमाथिबाट पहिरो खसेको थियो । २ वटा ठूला रूखहरू पनि ढलेको गोजारले जानकारी दिए । एउटा रूख सडकमै खसेको छ भने अर्को बिजुलीको तारमा अड्किएको उनको भनाइ छ ।
पहिरो पन्छाउन लोडर बोलाइएको गोजारले जानकारी दिए । सुपारेटार ब्यारेकनजिक खोप्लाङमा पनि बुधवार राति पहिरो खसेको थियो । उक्त पहिरोले काठमाडौंको लागि हिँडेका सयौँ सवारी अपलत्र परेका थिए । राति गएको पहिरो बिहीबार बिहान ९ बजे पन्छाइएको छ ।
नेपालकै पुरानो त्रिभुवन राजपथबाट बागमती प्रदेशको मुकाम हेटौँडादेखि पालुङ हँदै धादिङको नौबिसे पुगिन्छ । वर्षाले देशका थुप्रै मुख्य सडक सञ्जालहरू ठप्प भए पनि त्रिभुवन राजपथ भने मंगलबारसम्म अवरुद्ध थिएन् । त्रिभुवन राजपथबाट मालवाहक ठूला सवारीसाधन पनि गुड्न सक्छन् ।
। त्रिभुवन राजपथ काठमाडौंलाई तराईसँग जोड्ने वैकल्पिक राजमार्ग हो । विगतका वर्षमा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथ नै प्रयोग हुँदै आएको थियो । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालदेखि तराईका सवारीसाधन त्रिभुवन राजपथ हुँदै काडमाडौं ओहोरदोहोर गरिरहेका थिए ।शिलापत्र डटकमबाट

बाइलाइन नेपाल











