राखेप सदस्य सचिवका लागि तीन जना सिफारिस, पारिश्रमिक मासिक ६० हजार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितिले रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरेको छ। बुधबार सदस्य सचिव सिफारिस समितिले युवा तथा खेलकुद मन्त्री समक्ष तीन जनाको नाम सिफारिस गरेको हो।
सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन्। यता महिला सदस्यबाट सिफारिस भएका अन्जु राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्। सिफारिस समितिले बुधबारमात्रै तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । समितिले वणानुक्रम अनुसार अन्जु श्रेष्ठ, रमेश कुमार सिलवाल र लिल बहादुर थापा मगरलाई सिफारिस गरेको हो ।
६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । तीनै जनाको नाम आज मात्रै मन्त्री समक्ष पुगेको छ । अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ। सदस्य सचिवका लागि २७ जनाले मन्त्रालयमा आवेदन बुझाएका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको पारिश्रमिक मासिक ६० हजार हुने भएको छ । सदस्य सचिव सिफारिस समितिले पारिश्रमिक मासिक ६० हजार निर्धारण गरेको हो । बुधबार बसेको समितिले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो।
यो सँगै अब हुने सदस्य सचिवले विशिष्ट श्रेणीको सचिवको बराबर हुने गरी निर्धारण गरेको हो। यसअघि कुनै समय राखेपमा आउने सदस्य सचिवको तलब राखेप बोर्डले निर्धारण गर्थ्यो। तर, राष्ट्रिय खेलकुद विकास ऐन कार्यन्वयनमा आएसँगै पारिश्रमिक पनि सरकारले सदस्य सचिव चयनका लागि बनाएको सिफारिस समितिले निर्धारण गरेको हो।

बाइलाइन नेपाल











