नत्र म फरक अभियानसहित अघि बढ्छु: माधव नेपाल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष केपी ओलीको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार सम्भव नहुने बताएका छन् । त्यसक्रममा नेता नेपालले अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवस्थापन मात्रै अहिलेको समस्या नभएको भन्दै पार्टी र सरकार सञ्चालन विधि, पद्दति र नेताहरुको समझदारीबाटै हुनुपर्ने बताएका थिए ।
सचिवालय बैठकपछि आफु निकटका नेताहरुलाई सचिवालय बैठकबारे ब्रिफिङ गर्दै नेपालले कार्यशैलीगत समस्या समाधानका लागि मौखिक सहमतिले मात्रै नहुने भएकाले लिखित र मूर्त प्रस्ताव ल्याउन अध्यक्षद्धयलाई आग्रह गरेको बताएका थिए ।‘अहिले पार्टी र सरकारमा देखिएको प्रमुुख समस्या दुई अध्यक्षको व्यवस्थापन मात्रै होइन । पार्टी र सरकार सञ्चालन कसरी गर्ने ? विधि, पद्दति र मापदण्डका आधारमा चल्ने कि नचल्ने, नेताहरुबीच समझदारी कायम गर्ने कि नगर्ने ? यी कार्यशैलीगत समस्या हुन्’, नेता नेपालले दुवै अध्यक्षप्रति लक्षित गर्दै आफ्नो धारणा सुनाएका थिए ।
उनले बैठकमा भनेका थिए,‘हामी जनताप्रति उत्तरदायी हुने कि नहुने ? यदि दुई अध्यक्ष मिल्दैमा सबै समस्या समाधान हुन्छ भन्ने ठान्नुभएको छ भने त्यो मानिँदैन ।’ पार्टीमा एकता र सहकार्यका लागि समझदारी जरुरी रहेको भन्दै नेता नेपालले त्यसका लागि मूर्त र लिखित प्रस्ताव ल्याएपछि छलफल गर्न सकिने पनि बताएका थिए ।‘म पार्टीभित्र एकता र सहकार्यका लागि समझदारी कायम हुनुपर्छ भन्ने पक्षमै छु । त्यसका लागि मूर्त र लिखित प्रस्ताव चाहिन्छ नै । तर देशको परिस्थिति हेर्दा अहिलेकै अवस्थामा मंसिरमा महाधिवेशन गर्न सम्भव छ जस्तो लाग्दैन । गर्नेनै हो भने पनि लिखित प्रस्ताव ल्याउनुस् अनि छलफल गरौंला’, नेता नेपाले बैठकमा बोलेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यदि दुई अध्यक्ष मिले हुन्छ भन्ने तपाईहरुको बुझाई हो भने म फरक अभियानसहित अघि बढ्न बाध्य हुन्छु ।’
नेता नेपालले यस्तो धारणा सुनेपछि अध्यक्ष प्रचण्डले पनि उहाँले भनेको ठिकै हो भनेर सहमति जनाएका थिए । बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका ओलीले धारणा राखेका थिए । धेरै समय बैठकमा आफ्नो कुरा राखेका ओलीले आफुलाई सम्मानजन जिम्मेवारी हस्तान्तरणको अवसर दिन नेताहरुसँग आग्रह गरेका थिए ।‘मलाई सम्मानजनक जिम्मेवारी हस्तान्तरणको अवसर दिनोस्, मंसिरमा महाधिवेशन गराएर पार्टी अध्यक्षबाट हट्छु, सरकारचाहिँ पाँचै बर्ष मै चलाउँछु’ ओलीको भनाई थियो । अघिल्ला बैठकहरुमा भन्दा नरम ढंगले प्रस्तुत भएका प्रधानमन्त्री ओलीले काम गर्र्दा गल्ती भएको भए सुधार्न समेत तयार रहेको विश्वास दिलाउन खोजेका थिए ।नेता नेपालको भनाईप्रति सहमति जनाउँदै अर्का बरिष्ठ नेता झलनाथ खनालले पनि दुई अध्यक्षको चोचोमोचोले मात्रै नहुने धारणा राखेका थिए । चार घण्टाको छलफलपछि बैठकबारे व्रिफिङ गर्न ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवास गएका थिए । ओली प्रचण्ड २ घण्टा भन्दा बढी शीतलनिवासमा बसेर फर्किएका थिए ।

बाइलाइन नेपाल











