उपत्यकामा लगातार दुई दिन बिजोर नम्बर प्लेटको गाडी चल्ने
काठमाडौं । ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली रहेको भन्दै सोको कार्यान्वयनका लागि चेकजाँचमा कडाइ गरिएको जानकारी दिए ।उनकाअनुसार ट्राफिक प्रहरीले विभिन्न ४६ वटा ‘चेकिङ प्वाइन्ट’मार्फत निरन्तर चेकजाँचलाई निरन्तरता दिएका छ ।बुधबार बिहानैमात्र ती चेकिङ प्वाइन्टमार्फत ७६३ वटा सवारीसाधन कारबाहीमा परेको ढकालले जानकारी दिए । जसमा ६४१ वटा मोटरसाइकल र १२२ वटा चारपांग्रे गाडी रहेका छन् ।
यसैगरी मंगलबार मोटरसाइकल र चारपांग्रे सवारीसाधन गरी जम्मा १४५७ वटा सवारीसाधान कारबाहीमा परेको पनि महाशाखाले जनाएको छ ।यसैबीच बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने भएका छन् । बुधबार असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने ढकालले जानकारी दिए ।सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो ।ट्याक्सीमा भने सरकारले जोरबिजोर नियम लागू गरेको छैन ।

बाइलाइन नेपाल











