अफवाह फैलाउने ४ भारतीय च्यानलको प्रतिबन्ध नहट्ने, अरु आजदेखि खुल्ने
नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् । भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो । मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आजदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।
‘हामीले फेक–न्यूज प्रसारण गर्ने ४ वटा च्यानललाई बन्द नै राख्ने र अरुलाई आजदेखि खुला गर्ने निर्णय गर्यौं’ अध्यक्ष सुवेदीले भने, ‘उनीहरुले माफी त मागिसकेका छन्, तर पनि अहिलै खोल्नु उपयुक्त नहुने धारणा धेरै साथीहरुबाट आयो । त्यसैले ती च्यानललाई बन्द नै राख्ने निर्णय गरिएको हो ।’
नेपाल र चीनको विषयलाई जोडेर पछिल्लो समय भारतीय न्यूज च्यानलहरुले आफवाह फैलाउँदै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर अनलर्गल प्रचार गरेपछि नेपालीहरु चिढिएका थिए ।सोही कारण मल्टि सिस्टम अपरेटरहरुले गत बिहीबारदेखि दूरदर्शन बाहेक सबै भारतीय न्यूज च्यानलहरु बन्द गर्ने निर्णय गरेका थिए । सो निर्णयलाई उपत्यका र पहाडी क्षेत्रका नागरिकहरुले समर्थन गरे पनि तराई क्षेत्रका हिन्दी र मैथिलीभाषीले यसको विरोध गरेका थिए ।

बाइलाइन नेपाल











