झरनाको साहित्य शृङ्खलामा प्रदेशस्तरिय कवि गोष्ठी
हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरको २५४ औ साहित्य शृङ्खला शनिबार भर्चुअल माध्यमबाट अन्तर प्रदेश कवि गोष्ठीको रुपमा भएको छ । आज कविहरुले तीन चरणमा रचना बाचन गरेका छन् । प्रदेश १ बाट रमेश शुभेच्छु, प्रदेश २ बाट सञ्जय शाह ʽमित्र ’, बागमति प्रदेशबाट रचना मोक्तान ʽयात्री’, गण्डकी प्रदेशबाट मिलन समिर, प्रदेश ५ बाट सरस्वती कुसुम्या तथा सुदुरपश्चिम प्रदेशबाट मिन थापा सहभागी रहेका थिए । कार्यक्रममा थारु, बज्जिका तथा तामाङ भाषाका कविता पनि बाचन गरिएका थिए ।
झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले यस्ता कार्यक्रमले नेपाली साहित्यमा अझै टेवा पुग्ने बताए । साथै समकालीनतामाथिको दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने बेला भएको उनको भनाइ थियो ।
यसैगरी संस्थाका सल्लाहकार रमेशमोहन अधिकारीले यस्तो कार्यक्रम भएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहन सुझाव दिएका थिए । कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधब पोखरेल, आचँल कलापुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपाने, कवि तथा समाजसेबी अर्पण पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मकवानपुरसहित अन्य जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











