सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

बाइलाइन नेपाल
२५ असार २०७७, बिहीबार २०:१२

सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौंबाहिर पनि एक जिल्लाबाट अर्कोमा जान नपाउने गरी सार्वजनिक सवारीसाधन चल्न पाउनेछन् ।बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार उपत्यकाभित्र ट्याक्सीमा चालकसहित ३ जना यात्रा गर्न पाइने छ । एकै परिवारका सदस्य भए एउटा ट्याक्सीमा ५ जनासम्म यात्रा गर्न पाइनेछ ।यस्तै सरकारले सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारी सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्न पाइने छ । सवारीमा सेनिटाइजर अनिवार्य गरिएको छ भने चालक र सहचालकले मास्क र ग्लोब लगाउनु पर्नेछ ।सरकारले थोरै यात्रु भएका कारण सार्वजनिक सवारीले ५० प्रतिशतसम्म बढी भाडा उठाउन पाउने निर्णय समेत गरेको छ ।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा निजी सवारी साधन सञ्चालनमा आएका थिए । व्यवसायीले बैंकको किस्ता तिर्न समेत गाह्रो भएको भन्दै उचित सुरक्षा अपनाएर सवारी साधन चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए ।सरकारले लामो र मध्यम दूरीका सवारी साधन चलाउनमा भने अझै रोक लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*