नेतृत्वलाई खबरदारी गर्दै कार्यकर्ताले घेरे मकवानपुरको पार्टी कार्यालय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तद्र्वन्द्वको कारण पार्टी विभाजनको दिशामा गएको भन्दै कार्यकर्ताहरुले नेकपा मकवानपुरको पार्टी कार्यालय घेराउ गरेका छन् । नेकपा मकवानपुरको जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुले मंगलबार पार्टी कार्यालय घेराउ गर्दै पार्टी केन्द्रीय कार्यालयमा ज्ञापन पत्र पठाएका छन् ।
पछिल्लो समय नेकपा नेताहरुबीच बढेको मनमुटावका कारण पार्टी एकता भन्दा पनि फुटको संघारमा पुगेको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।हेटौंडा–५ स्थित पार्टी कार्यालयमा युवा, विद्यार्थी संगठनका कार्यकर्ताहरुले करिब १ घण्टा धर्ना बसेका थिए । पार्टी एकतालाई मजबुत बनाउँदै नेकपालाई थप सशक्त बनाउनुपर्ने माग नेता, कार्यकर्ताहरुको छ । एकताका लागि दबाब अभियान सञ्चालन गरेर कार्यकर्ताहरुले नेकपाकी केन्द्रीय सदस्य कुमारी मोक्तानमार्फत पार्टी केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
कार्यकर्ताहरुले ‘फुटवादीहरु होसियार’, ‘व्यक्ति होइन नीति प्रधान पाटी निर्माण गरौं’, ‘पार्टी बैठकमा मन माझामाझ गर, बाहिरको तमासा बन्द गर’, ‘जनसमुदायमाथि भर पर’, ‘हामीलाई व्यक्ति होइन पार्टी चाहिन्छ, नेता तिमीलाई के चाहिन्छ ?’, म पार्टी नियमलाई सर्वोपरी ठान्छु, नेता तिमी के ठान्छौं ?’ जस्ता नारा लगाएका थिए ।
धर्नालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले युवा र विद्यार्थीको माग अनुसार पार्टीलाई थप एकताबद्ध बनाएर लैजान पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने धारणा राखेका थिए । सोमबार मात्रै हेटौंडामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा ‘कम्युनिस्ट युवा विद्यार्थी मकवानपुर’को ब्यानरमा प्रदर्शन गरेका थिए ।

बाइलाइन नेपाल











