प्रचण्डको ब्रिफिङ : ओलीले पार्टी विभाजन गर्छु भन्नुभयो !

बाइलाइन नेपाल
२० असार २०७७, शनिबार ०७:२६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूले कुनैपनि पद नछोड्ने बरु पार्टी नै फुटाउने अडान राखेका छन् ।शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा ओलीले यस्तो अडान दोहोर्‍याएका हुन् ।ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले विविध कारण देखाउँदै दुवै पद छोड्न आग्रह गरेका थिए ।

बालुवाटारमा ओलीसँगको भेटवार्तापछि आफ्नै निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले कुनै सहमति हुन नसकेको नेताहरुलाई बताएका थिए ।प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै वरिष्ठ नेता झलनाथ खनालले रातोपाटीसँग भने, ‘प्रचण्डले ओलीजीलाई दुवै पदबाट राजीनामा दिनुस्, पार्टीलाई मार्गदर्शन गर्नुस् भन्नुभयो । तर केपी ओलीले म दुवै पदबाट कुनैपनि हालतमा राजीनामा दिन्न बरु म आफै पार्टी विभाजन गर्छु भन्नुभयो ।’

यसअघि बिहीबारको स्थायी समिति बैठकले पार्टीभित्रको विवाद साम्य पार्न बैठक नै रोकेर दुई नेताबीच सहमति खोज्न समय दिइएको थियो ।नेताहरुबीच विवाद कायमै रहेका बेला प्रम ओलीले बिहीबार स्थायी समिति बैठक र नेताहरुलाई छल्दै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए । बिहीबार भएको दुई नेताबीचको कुराकानीमा पनि ओलीले दुवै पद नछाड्ने आवश्यक परे अरु विषयमा भने छलफल गर्ने बताएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक पनि २ जनाले बोलेर स्थगित गरिएको थियो । स्थायी समिति बैठक शनिबार पनि बैठक बस्दैछ । त्यसअघि पुन ओली र प्रचण्डबीच सहमतिको प्रयास गरिने प्रचण्डनिकट स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*