मकवानपुरका बोर्डिङ स्कुलका शिक्षकले काम गरे, तर तलब पाएनन्

बाइलाइन नेपाल
१८ असार २०७७, बिहीबार १८:०३

हेटौंडा । संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु) नगर समितिले हेटौंडा उपमहानगरपालिका र इष्टु जिल्लाले जिल्ला समन्वय समिति मकवानपुरमा ज्ञापनपत्र बुझाइएको छ । कोरोना भाइरस (कोभिड(१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहँदा समेत पूर्वनिर्धारित तलव, सेवासुविधा प्राप्त नहुँदा यसतर्फ राज्य पक्ष र विद्यालय व्यवस्थापन गम्भीर नदेखिएको भन्दै हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना लामालाई ध्यानाकर्षण जनाएको छ ।

इष्टु नगरका अध्यक्ष सीएम रिमालले ६ बुँदे माग प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै हेटौंडा उपमहानगरपालिका उपप्रमुख लामाले कोरोना कहरले भन्दा नि अहिले भोकमरीको अवस्था सिर्जना भएको बताइन् । ‘कोरोनाले गर्दा हेटौंडा उपमहानगरपालिकाको अनावश्यक खर्च बढेको छ ।’ उनले भनिन्–‘विदेशबाट आउनु भएकालाई क्वारेन्टाइनमा राख्नका लागि क्वारेन्टाइन निर्माण भएको छ ।’ कोरोनाले गर्दा हेटौंडा उपमहानगरपालिका १० प्रतिशत घाटामा रहेको उनले बताइन् । ‘अहिले दाल भात खाएर बाँच्ने अवस्था पनि छैन, श्रम पनि गर्नुपर्छ ।’ उनले –‘भोकमरीको अवस्था सिर्जना भए तापनि हामी चुप लागेर बसेका छैनौँ ।’ इष्टुको समस्यालाई लिएर सम्बन्धित निकायसँग छलफल गरिने उनको भनाइ रहेको छ ।

यसैगरी इष्टु मकवानपुरका अध्यक्ष सचिन लामाले ६ बुँदे माग प्रस्तुत गर्दै बुधबार जिल्ला समन्वय समिति (जिसस) का प्रमुख रघुनाथ खुलाललाई पनि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख खुलालले इष्टुको समस्यालाई लिएर समन्वय र सहजीकरण गर्ने बताएका छन् । इष्टुले आफ्नो मागलाई लिएर प्याव्सन मकवानपुर, शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षक महासङ्घ नगर कार्य समिति मकवानपुर लगायतलाई ध्यानाकर्षण पत्र बुझाइसकेको इस्टु नगर अध्यक्ष सिएम रिमालले जानकारी दिए । कार्यक्रममा जिल्ला र नगरका पधाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*