चुरेहिल हस्पिटलको मेडिकल निर्देशकमा डा.जयराज शर्मा
हेटौंडा । चुरेहिल हस्पिटल प्रालिको मेडिकल निर्देशकको जिम्मेवारी डा. जयराज शर्मालाई प्रदान गरिएको छ । हस्पिटल संचालक समितिको २०७७ असार ९ गतेको बैठकको निर्णयानुसार उनलाई जिम्मेवारी प्रदान गरिएको हो । हस्पिटलमा विगत १० महिनादेखि अर्थोपेडिक सर्जनको रुपमा कार्यरत डा. शर्मालाई आज एक कार्यक्रमको आयोजना गरी जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
हस्पिटल संचालक समितिका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले अस्पताललाई नयाँ दिशाबाट अघि बढाउन जरुरी भएकोले मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको बताए । नवनियुक्त मेडिकल निर्देशक डा. शर्माले हस्पिटलले प्रदान गरेको जिम्मेवारीलाई पूर्ण रुपमा वहन गर्ने उल्लेख गरे । बिरामीलाई गुणस्तरीयसेवा सुविधा प्रदान गर्न नयाँ नीति एवम् कार्य योजना बनाई अघि बढ्ने बताउँदै शर्माले छिट्टै नै बालरोग र स्त्रीरोग सेवा पनि थप गर्दै अघि बढ्ने जानकारी दिए । संस्थागत अनुशासन कायम गर्दै हस्पिटलको आर्थिक स्थिति मजबुत बनाई क्षेत्र विस्तारमा पनि अघि बढ्ने डा. शर्माको भनाइ छ ।
हस्पिटलका सल्लाहकार तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरवासीलाई अत्याधुनिक स्वास्थ्य सेवा सुविधा उपभोग गराउनकालागि चुरेहिल हस्पिटलको स्थापना गरिएकोले सुशासन कायम गरी थप सेवा विस्तारमा अघि बढ्न बताए । संचालक समिति सदस्य देवेन्द्रध्वज कार्कीले हस्पिटलको गुणस्तरलाई अझै उच्च बनाउन सबैको सहयोग आवश्यक रहने उल्लेख गरे ।
अस्पताललका प्रशासकीय अधिकृत विवेक मानन्धरले सहजीकरण गरेको कार्यक्रममा संचालक समिति सदस्य विश्वराज रिजाल, नारायणलाल श्रेष्ठ, टिकामान परियार, शेयर सदस्य मुरारीप्रसाद पुडासैनी, जीतबहादुर श्रेष्ठ, तेजबहादुर थापा, अर्जुन डंगोल, सल्लाहकार आनन्दराम पराजुली, प्रमोदसिंह रानाभाट, हस्पिटलमा कार्यरत चिकित्सकहरु, प्रशासनिक कर्मचारीहरु, विभिन्न वार्डका ईन्चार्जहरुलगायतको उपस्थिति रहेको थियो ।

बाइलाइन नेपाल











