बागमती प्रदेशमा २३ प्रतिशत रोपाइँ
बागमती प्रदेशको सिन्धुलीबाहेकका जिल्लामा मनसुन सुरु भएसँगै धान रोपाइँ धमाधम भइरहेको छ । प्रदेशमा १५ असारसम्मको तथ्यांकअनुसार २३.५ प्रतिशत धान रोपाइँ भएको हो ।सिन्धुलीमा भने यसवर्ष धान रोपाइँ हुन नसकेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । भौगोलिक बनावटलगायतका कारणले असार पहिलो सातासम्म धान रोपाइँ हुन नसकेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । असारको दोस्रो हप्ताबाट सिन्धुलीमा धान रोपाइँ सुरु हुने उनले जानकारी दिएका छन् ।
प्रदेशको ललितपुर र भक्तपुरमा रेपाइँको प्रतिशत बढी छ । प्रदेशमा उत्पादन हुने धानले प्रदेश आफैँ आत्मनिर्भर छैन् । देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको बागमती प्रदेश धान उत्पादनबाट आत्मनिर्भर बन्न नसकेको सूचना अधिकारी अधिकारी बताउँछन् । ‘प्रदेशको धेरै भाग पहाडी क्षेत्र पर्छ । जनसंख्या धेरै छ । धान उत्पादनको तुलनामा प्रदेश आत्मनिर्भर छैन्,’ अधिकारीले भने ।मन्त्रालयका अनुसार प्रदेशमा १ लाख ३४ हजार हेक्टर जमिनमा धानखेती हुन्छ । जसमध्ये हालसम्म ३१ हजार ५ सय ६३ हेक्टरमा रोपाइँ सकिएको अधिकारीले बताए । आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ३३ हजार ८ सय ४२ हेक्टरमा धान खेति हुने गर्थ्यो । जसबाट ५ लाख २१ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशका चितवन, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेमा सामूहिक खेती भइरहेका कारण यस वर्ष धान उत्पादन बढ्ने अनुमान छ । यी जिल्लामा मुख्यतः राम, हाइब्रेड, सावित्री, मन्सुली आदि धानको खेती हुने गरेको पाइन्छ । कोरोना महामारी रोक्न सरकारले गरेको लकडाउनको कारण पनि धान उत्पादन बढ्ने संकेत देखिएको छ । लकडाउनको समयमा अधिकांश बाँझो जग्गा सदुपयोग गर्दै कृषकहरू उत्पादनसँग जोडिएका छन् । प्रदेशको सबै जिल्लामा रोपाइँ धमाधम भइरहे पनि बाली नास गर्ने सलह नेपाल प्रवेश गरेपछि कृषकहरू चिन्तित छन् । सलह प्रदेशको ८ जिल्लामा देखिसकेको छ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, धादिङ, काभ्रे, मकवानपुर, चितवन, रामेछाप र सिन्धुलीमा सलह देखिएको हो । सलहले मकवानपुरगढी गाउँपालिका–७ बतासे क्षेत्रमा लगाएको मकैबालीमा क्षति पुर्याएको छ ।

बाइलाइन नेपाल











