बागमती प्रदेशले १ किलो सलहको ३० रुपैयाँ दिने

बाइलाइन नेपाल
१६ असार २०७७, मंगलवार २१:४८

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ किलो सलह समातेर ल्याउनेलाई प्रतिकिलो ३० रुपैयाँका दरले रकम दिने निर्णय गरेको छ ।आइतबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले सलह समातेर नष्ट गर्न प्रोत्साहनस्वरुप किलोको ३० रुपैयाँ दिने निर्णय गरेको हो । सलह देखिएको स्थानमा विषादी छर्किने भन्दा पनि त्यसलाई मार्ने विधि प्रभावकारी हुने भन्दै सलह समातेर १ किलो बनाउनेलाई प्रोत्साहनस्वरुप ३० रुपैयाँ दिने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

‘सलहलाई विषादी छर्किएर आउनै नदिने भन्दा पनि मार्ने विधि प्रभावकारी हुन्छ । एक ठाउँबाट धपाए अर्को कृषकको बालीमा पुग्छ र त्यहाँको बाली नष्ट गर्छ । त्यसैले समातेर र कुनै तरिकाबाट यसलाई मार्नु नै उपयुक्त हुने विज्ञहरूले बताएका छन्,’ अधिकारीले भने, ‘सलह समातेर ल्याउने जोकोही व्यक्ति, समूह, संस्था, निजीक्षेत्रहरूलाई ३० रुपैयाँ प्रतिकिलोका दरले दिइनेछ ।’मन्त्रालयले कृषक प्रोत्साहित भएर सलह समातेर ल्याउने अनुमान गर्दै प्रोत्साहन दिने निर्णय गरेको हाे । प्रोत्साहनस्वरुप दिइने रकमका लागि मन्त्रालयले कार्यविधि बनाउने भएको छ ।

तत्काल कार्यविधि बनाएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने तयारी गरिएको अधिकारीले जानकारी दिएका छन् । सहल नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।सलह समात्नेलाई पैसा दिने घोषणा गर्ने बागमतीको कृषि मन्त्रालय तेस्रो निकाय हो । यसअघि सलह समात्नेलाई प्रदेश ५ ले प्रतिकिलो २० रुपैयाँ र सुदूरपश्चिम प्रदेशले प्रतिकिलो २५ रुपैयाँ दिने घोषणा गरिसकेका छन् । त्यहाँ सलह समात्नेलाई प्रोत्साहनस्वरुप रकम पनि दिइसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*