राक्सिराङको बजेट ५१ करोड १५ लाख
मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आज बसेको सातौँ गाउँसभाको अधिवेशन बैठकमा अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
संघीय सरकारबाट ३६ करोड ७० लाख ९७ हजार २ सय ७७, प्रदेश सरकारबाट ८ करोड २७ लाख ३३ हजार प्राप्त हुने र स्थानीय स्रोतबाट ३ करोड ३२ लाख संकलन हुने अनुमान गरेर आगामी आवको अनुमानित बजेट सार्वजनिक गरिएको अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
गाउँपालिकाले आगामी आवमा कृषि, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट प्रस्ताव गरेको अध्यक्ष मल्लले बताए ।

बाइलाइन नेपाल











