यस्तो छ मकवानपुरका स्थानीय तहको बजेटको तयारी
मकवानपुरका १० वटै स्थानीय तह आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तयारीमा जुटेका छन् । संघीय र प्रदेश सरकारले बजेट ल्याइसकेको अवस्थामा स्थानीय तहहरूले पनि बजेटको तयारी तीव्र बनाएका हुन् ।
कोरोना प्रभावको कारण स्थानीय तहहरूले आगामी बजेटको आकार घटाएर ल्याउने तयारी गरेका छन् । कोरोना महामारीले स्रोतको दायरा साँघुरो भएको र प्राथमिकता परिमार्जन गर्नुपर्ने भएपछि बजेटको आकार घटाउने तयारी स्थानीय तहले गरेका हुन् ।
बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडाले पनि बजेटको आकार घटाउने जनाएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमार लामाले आगामी आवको बजेट घटेर आउने बताइन् ।
‘कोरोना प्रभावले गर्दा राजस्व संकलन हुन सकेको छैन् । आगामी बजेट घटाएर ल्याउने तयारी छ,’ लामाले भनिन् । हेटौँडाले चालू आवमा १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
चालू आवमा बजेटको ठूलो हिस्सा पूर्वाधार विकासमा विनियोजन गरेको हेटौँडाले बजेटको प्राथिमिकतामा पनि परिमार्जन गर्ने तयारी गरेको छ । पूर्वाधार विकासमा मात्र ८६ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । आगामी आवको बजेटमा कृषि, पशु र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उपप्रमुख लामाले जानकारी दिइन् ।
हेटौँडाले मात्र नभई मकवानपुरका सबै स्थानीय तहले आगामी आवको बजेट प्राथमिकता परिमार्जन गर्ने भएका छन् । कोरोना प्रभावले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने स्थानीय तहहरूले बताएका छन् ।
मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले झण्डै १२ करोड रुपैयाँ बजेट घटाउने गृहकार्य गरेको छ । नगर प्रमुख लवशेर विष्टका अनुसार थाहाले आगामी आवमा ८० करोड हाराहारीमा बजेट ल्याउँदैछ । चालू आवमा ९२ करोड बजेट ल्याएको बताउँदै नगरप्रमुख विष्टले कोरोना महामारी र विभिन्न कारणले बजेटको आकार घट्ने बताए ।
थाहाले पनि बजेट प्राथमिकता कृषि र स्वास्थ्यलाई दिएको छ । थाहाले असार मसान्तसम्म ६० प्रतिशत बजेट खर्च गरेको छ । टेण्डर प्रक्रियामा गएका काम सम्पन्न भइनसकेको कारण बजेट खर्च न्यून देखिएको प्रमुख विष्टको भनाइ छ । टेण्डर प्रक्रियामा गएका काम समयमै सम्पन्न गर्न समयसमयमा ताकेता गरिरहेको विष्टले जानकारी दिए । उनका अनुसार टेण्डर प्रक्रियाका काम समयमै सकिए थाहाको बजेट खर्च ८० प्रतिशत बढ्ने छ ।
जिल्लाको विकट गाउँपालिका राक्सिराङले भने चालू आवमा भन्दा आगामी आवको बजेट आकार बढाउने तयारी गरेको छ । ४ करोड रुपैयाँ बढी बजेट बढाएर ल्याउने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए । राक्सिराङको राजस्व आम्दानीमा वृद्धि भएपछि बजेट बढाउन लागिएको मल्ले बताए । चालू आवमा ४५ करोडको बजेट ल्याएको राक्सिराङले आगामी आवमा ५० करोडको बजेट ल्याउने तयारी गरेको हो ।
विकट क्षेत्र भएकोले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको राक्सिराङले आगामी आवको प्राथमिकतामा कृषि, स्वास्थ्य र पुश क्षेत्रलाई राखेको छ । १० असारभित्र बजेट प्रस्तुत गर्ने तयारीमा पुगेको राक्सिराङले उत्पादनको क्षेत्रलाई बजेटमा प्राथमिकताका साथ राखिएको अध्यक्ष मल्लले बताए ।
प्रदेश मुकाम हेटौंडासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाले पनि बजेटको दायरा बढाउने भएको छ । चालू आवमा ५० करोड बजेट ल्याएको मकवानपुरगढीले आगामी आवका लागि करिब ५८ करोड बजेट ल्याउने तयारी गरेको अध्यक्ष बिदुर हुमागाईंले बताए । १० असारमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको गाउँपालिको बजेट प्राथमिकतामा कृषि, स्वास्थ्य, पशु र रोजगारलाई राखेको उनले बताए ।
मनहरी गाउँपालिकाले चालू आवकै हाराहारीमा आगामी आवको बजेट ल्याउने भएको छ । मनहरीका अध्यक्ष एकराज उप्रेतका अनुसार आगामी आवमा पनि ६१ करोड हाराहारीकै बजेट ल्याउने तयारी भइरहेको हो । मनहरीले कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई बजेट प्राथमिकतामा राखेको छ ।
विकट गाउँपालिका कैलाशले पनि बजेटको आकार घटाउने भएको छ । चालू आवमा ३८ करोडको बजेट ल्याएको कैलाशले कृषि, भौतिक पूर्वाधार र रोजगारलाई प्राथमिकतामा राखेको अध्यक्ष टंक मोक्तानले बताए । पूर्वी गाउँपालिका बागमतीले पनि चालू आवको भन्दा करिब ४ करोड बजेट घटाउने तयारी गरेको छ । चालू आवमा ३० करोडको बजेट प्रस्तुत गरेको बागमतीले कृषि, पशु र स्वास्थ्यलाई प्राथमिकतामा राखेको अध्यक्ष सर्केश घलालले बताए ।

बाइलाइन नेपाल











