बहुविवाहको आरोपमा सात वर्षपछि जेल

बाइलाइन नेपाल
३ असार २०७७, बुधबार ०८:१५

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई कैद सजायका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आरोपित साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

जेठी श्रीमतीले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक बलात्कारको उजुरीसमेत दर्ता गरेकी थिइन्। वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेका आरोपित २०७० वैशाख ४ गते रु २५ हजार धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । सप्तरी जिल्लाका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*