श्रीमतीसँगको झगडाले सासुको हत्या

बाइलाइन नेपाल
२९ जेष्ठ २०७७, बिहीबार १६:१४

हेटौंडा । मकवानपुरमा लकडाउनको बेला ससुराली आएका ज्वाईले आफ्नै सासुको हत्या गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका–१ फूलबारीकी ७२ वर्षीय कान्छीमाया बम्जनलाई उनकी छोरी ज्वाई प्युठानका ३९ वर्षीय पदमबहादुर नेपालीले घरेलु हतियार हसियाले प्रहार गर्दै हत्या गरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मादकपदार्थ सेवन गरेका नेपालीले घर झगडाकै कारण हत्या गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा आज बिहीवार बिहान ५ बजे नेपालीले बम्जनलाई हसिया प्रहारबाट हत्या गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
नेपाली लकडाउन भएपछि श्रीमतीसँगै काठमाडौंबाट ससुराली घर आएको खुलेको छ । उनी काठमाडौंमा काम गर्दै आएका थिए ।

‘प्युठान जान टाढा भएकोले उनी काठमाडौंबाट नजिकै मकवानपुरको ससुराली घर आएका रहेछन् ।–’ प्रवक्ता रानाले भने– ससुराली घरमा श्रीमतीसँग विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रवक्ता रानाका अनुसार श्रीमतीसँग झगडा हुँदा सासुसँग पनि भनाभन भएको देखिएको छ । सासुसँग भनाभन भएपछि नेपालीले हत्या गरेको हुन सक्ने रानाले बताए । घटनामाथि थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*