रुकुम घटनाको बिरोधमा ५ दिनसम्म हेटौँडामा हस्ताक्षर सङ्कलन तथा धर्ना
हेटौंडा । जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतिमा घटेको सामूहिक हत्याकाण्डको बिरुद्धमा हेटौँडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना भएको छ ।
प्रत्येक दिन बिहान ७ बजेबाट ९ बजेसम्म धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । ५ दिनसम्म सङ्कलित हस्ताक्षरलाई सम्बन्धित निकायलाई बुझाईने स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले जानकारी दिए ।
हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रम आज वाग्मती प्रदेशसभा सदस्य ओम ग्लानले २१ औ शताब्दिमा सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा लागिरहदा यस्तो दुखद घटना हुनु निकै दुखद रहेको बताए । वर्गिय समाजमा मानव सभ्यताको चरणमा सबै मानव एक हो भनेर आन्दोलनहरु उठिरहेको बताउदै अबको दिनमा बजेटमै सचेतनाका कार्यक्रम सरकारले घोषणा गर्नुपर्ने आवश्यकता औलाए ।
कार्यक्रममा नेकपा मकवानपुरका कार्यालयका सदस्य एकालाल श्रेष्ठले हाम्रो समाजमा कसरी परिष्कृत बनाउने भनेर बहस चलिरहेको बेला घटेको यो घटनाबाट राजनीतिक रुपमा समाजलाई सूसुचित गराउन अझै बाकी रहेको महशुस भएको बताए । राजनीतिक परिवर्तन भएर मात्रै नहुने भन्दै सबै टोलटोलमा जागरण ल्याउन सबै लाग्नु पर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जालका सह संयोजक तथा माइती नेपाल मकवानपुरका प्रमुख माया लामा, मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालका केन्द्रिय सदस्य पुष्प परागले नियोजित हत्यामा सामेलमाथि कारवाहीका लागि सबै मानवअधिकारकर्मीहरु सक्रिय रहेको बताए ।
यसैगरी कार्यक्रममा उच्च बार एशोसियनका पूर्व अध्यक्ष मदन दाहाल, जिल्ला बार एशोसियनका अध्यक्ष ईश्वरी अधिकारी, हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, उपेक्षित सामुदायिकविकास मञ्चका अध्यक्ष सानुभाई विश्वकर्मा, गैसस महासङ्घ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, नेपाल दलित सङ्गठनका केन्द्रीय सदस्य जङ्गबहादुर बिश्वकर्मा, नेपाल दलित संघका केन्द्रीय सदस्य गोपीलाल विश्वकर्मा, अनेरास्वबियुका केन्द्रीय सदस्यद्वय सन्तोष पौडेल, दिनेश सुबेदी, नेपाल तरुण दलका नगर अध्यक्ष सुनिल गिरी, नागरिक सरोकार समितिका अध्यक्ष केशव गौतमलगायतको उपस्थिति रहेको थियो ।
समूहले साथै जेठ ३२ गते अपराह्न १२ बजेबाट २ घण्टा प्रदेशसभाको भवन अगाडि हस्ताक्षर अभियान गर्ने जनाएको छ ।
प्रदेश पहरी प्रमुख लामालाई ज्ञापनपत्र
यही जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको अन्तिम दिन आज प्रदेश प्रहरी डिआइजी वसन्त लामालाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र बुझाएको छ ।

रुकुम चौरजहारी सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले प्रदेश प्रहरी प्रमुख लामालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै उनले दोषीमाथि कारवाही गराउन आफुले पहल गर्ने बताए । उनले यस्ताखाले घटनामा राजनीतिक घुसपैठ नहुने हो भने मात्रै आफुहरुलाई काम गर्न सहज हुने उल्लेख गरे । सम्बन्धित सरोकार निकायहरुलाई ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताए ।

बाइलाइन नेपाल











