मकवानपुरगढीमा दाना उद्योग निर्माण

बाइलाइन नेपाल
२७ जेष्ठ २०७७, मंगलवार २०:३९

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा तीन वटै तहका सरकार र सहकारीको लगानीमा दाना उद्योग निर्माण गरिएको छ । गाउँपालिका–३ कालिखोलामा दाना उद्योग निर्माण गरिएको हो ।

भवन निर्माण गरेर अहिले उद्योगका लागि उपकरण राख्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ । गाई भैंसीलगायतका पशुपंक्षिलाई चाहिने दाना उक्त उद्योगमा उत्पादन हुने भएको छ ।

दाना उद्योगको भवन निर्माणको काम सकिएको जानकारी दिैदै गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले दाना उद्योगका लागि भवन निर्माण भइसक्यो अब उपकरण राखेर आउँदो आर्थिक वर्षबाट दाना उत्पादन गर्न सुरु हुने बताए ।

हाल सम्म दाना उद्योगका लागि गढी गाउँपालिकाले ६० लाख रुपैयाँ, विभिन्न दुग्ध उत्पादक सहकारी संस्थाबाट एक करोड रुपैयाँ, वाग्मती प्रदेश सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ३४ लाख रुपैयाँमा निर्माण भएको अध्यक्ष हुमागाईँले जानकारी दिए । दाना उद्योगका लागि मकवानपुर क्षेत्रनम्बर २ का सांसद विरोध खतिवडाको पहलमा जेठ १५ गते प्रस्तुत गरिएको बजेटमा एक करोड रुपैयाँ छुट्याइएको छ ।

तीनै तहका सरकार र सहकारी समेतको लगानीमा दाना उद्योग निर्माण गर्न लागिएको सांसद खतिवडाले बताए । संघीय सरकारको यसअघि बजेट नभएपनि आउँदो आर्थिक वर्षमा खर्च गर्नेगरी एक कोड रुपैयाँ छुट्याइएको उनले जानकारी दिए । दाना उद्योग गढी गाउँपालिकाको मात्र भन्दा पनि जिल्लाभरीकै किसानका लागि उपयोगी हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*