मकवानपुरका १६३ जना पत्रकारको बीमा

बाइलाइन नेपाल
२७ जेष्ठ २०७७, मंगलवार २०:२८

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शखाले जिल्लाका १६३ जना पत्रकारको कोरोना र दुर्घटना बीमा गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बीमा गरिएको हो ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँलाई बीमा पोलेसी पत्र हस्तान्तरण गरेका छन् । कोरोना भाइरसको त्रासका बीच पनि अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना बीमा गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका कोषाध्यक्ष सुदीप शिवाकोटी, सहसचिव धर्वेन्द्र दाहाल, लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा मेयर महतले पत्रकारका लागि संस्थागत रुपमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताए । हेटौंडाको एभ्रेष्ट ईन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत बीमा गरिएको हो ।

कोरोना बीमा गर्नका लागि पत्रकार महासंघ मकवानपुर शखालाई उपमहानगरपालिकाले एक लाख ५० हजार रुपैयाँ कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गरेको थियो । लकडाउनको समयमा पनि त्रास बेहोर्दै अग्रपंत्तिमा खटिएका १६३ जना पत्रकारको कोरोना र दुर्घटना बीमा गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हुमागाईँले बताए ।

पत्रकार महासंघ मकवानपुरमा सदस्य रहेका १०३ जना र नयाँ सदस्यताका लागि सिफारिस गरिएका ६० जना पत्रकारको बीमा गरिएको अध्यक्ष हुमागाईँले जानकारी दिए । एक जना पत्रकारको तीन लाख रुपैयाँका दरले बीमा गरिएको हो ।

बीमा गरिएका पत्रकारको कोरोना भाइरस पुष्टि भएमा एक लाख रुपैयाँ र दुर्घटनामा परेर कुनै पत्रकार घाइते भएमा २० हजार रुपैयाँ सम्म उपचार खर्च र मृत्यु भएमा दुइलाख रुपैयाँ प्राप्त गर्ने बीमा कम्पनीले जनाएको छ ।

कोरोना भाइसको त्रासका विच पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संगै सञ्चारकर्मी पनि निरन्तर अग्रपंत्तिमा खटिएकाले कोरोना र दुर्घटना बीमा गर्नका लागि सहयोग गरिएको मेयर महतले बताए । अहिलेको समयमा मिडिया हाउस र पत्रकार पनि संकटमा परेको समयमा स्थानीय सरकारले सहयोग गरेको उनले बताए ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले केही महिना अगाडि पत्रकार महासंघ मकवानपुरले गरेको उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरपालिकाले महासंघको कार्यालयमा पुस्तकालय निर्माण गर्नका लागि सहयोग गरेको थियो ।

कोरोनाको त्रासका बीच पनि अग्रपंतिमा रहेका पत्रकारका लागि पत्रकार महासंघ मकवानपुर साखाले स्वास्थ्य सुरक्षाका सामाग्री, संचार संस्थालाई प्रेस ज्याकेट, लकडाउनका कारण समस्यामा परेका पत्रकारका लागि खाद्यान्नका सामाग्री वितरण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*