अभिनेत्री मनिषा कोइराला क्वारेन्टाइनमा

बाइलाइन नेपाल
२२ जेष्ठ २०७७, बिहीबार २०:२३

अभिनेत्री मनिषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टाइनमा बसेकी छिन् । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टाइनमा बसेकी थिइन् ।

नेपाली सेनाले स्कर्टिङ गरेर उनलाई राजधानी ल्याएको थियो । ‘मनिषा कोइराला आमा र बुबासहित राजधानीको एक होटलमा मंगलबारदेखि क्वारेन्टाइनमा बसिरहनु भएको छ,’ अभिनेत्री कोइराला निकट स्रोतले भने, ‘होटलमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेर उहाँहरू घर जानु हुनेछ ।’

मुम्बईबाट गोरखपुर एयरपोर्टमा ओर्लिएलगत्तै बेलहिया नाकामा ज्वरो मापन गराएर उनी नेपाल प्रवेश गरेकी थिइन् । कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उनी आमा र बुबासहित मुम्बईस्थित घरमा क्वारेन्टाइनमा बसेकी थिइन् ।

यसअघि नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया उनीविरुद्ध खनिएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*