निर्माण सामाग्रीको मूल्यवृद्धि गरेको भन्दै निर्माण संघ पुग्यो प्रशासन

बाइलाइन नेपाल
२२ जेष्ठ २०७७, बिहीबार १८:३२

मकवानपुरका निर्माण व्यवसायीहरुले पछिल्ला केहीदिनयता उत्पादकले बिनाकारण निर्माण सामाग्रीको मूल्य वृद्धि गरेको भन्दै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानाकर्षण गराएका छन् । निर्माण सामाग्रीको मूल्य वृद्धिका साथै ढुवानी भाडासमेत बढाएपछि आफूहरु मारमा परेको भन्दै मकवानपुरका निर्माण व्यवसायीहरुले उजुरी गराएका हुन् ।

निर्माण सामाग्री र त्यसको ढुवानी भाडामा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गराउनुपर्ने माग गर्दै बिहीबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकाल सहितको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी नेपाललाई ज्ञापनपत्र बुझाएका हुन ।

लक डाउनपछि उद्योगहरुले सिमेन्टमा प्रतिबोरा ८० देखि १२० रुपैयाँ, फलामे डन्डीमा प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायी संघले यो मूल्यवृद्धि अस्वभाविक भएको तर्क गरेको छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा ढुवानी भाडा घट्नुको साटो भाडा बढेको भन्दै संघका अध्यक्ष ढकालले ततकाल मुल्य समायोजन गर्न माग गरेका हुन् । कोरोना भाइरसको जोखिमका बीच पनि निर्माण व्यवसायीहरुले विकास निर्माणका कामहरु गरिरहेको अवस्थामा अस्वभाविक मूल्यवृद्धिले साना निर्माण व्यवसायी र सर्वसाधारणसमेत मारमा परेको भन्दै यसलाई नियमन गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको अध्यक्ष ढकालले बताए ।

हेटौंडामै रहेका शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट र ऋद्धिसिद्धि सिमेन्टले पनि बिनाकारण मूल्य बढाएकाले मकवानपुर प्रशासनले त्यसको नियमन गर्न निर्माण व्यवसायीले दबाब दिए ।

निर्माण व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले यसबारेमा सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गराउने प्रतिवद्धता जनाएकाछन् । ढुवानी भाडा वृद्धि गरिएको विषयमा पनि ढुवानी व्यवसायीसँग बसेर छलफल गरिने प्रमुख जिल्ला अधिकारी नेपालले बताए । यो बिषम परिस्थीतीमा ब्यबसायीहरु समस्या बुझन समेत आग्रह गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*