भारतबाट आउने बढेपछि वाग्मती प्रदेशमा क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बर

बाइलाइन नेपाल
२२ जेष्ठ २०७७, बिहीबार १७:३८

हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको बेला वाग्मती प्रदेशमा भने क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ । छिमेकी मुलुक भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्यामा वृद्धि भएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या २४ घण्टाभित्र दोब्बर भएको छ ।

वाग्मती प्रदेशको १३ जिल्लामै स्थापना गरिएको क्वारेन्टाइनमा बस्नेको संख्या बुधवारसम्म दोब्बर भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । भारतमा लाखौंको संख्यामा नेपाली छन् । लामो समयसम्म भारतमा जारी लकडाउनको कारण स्वदेश फर्किन खोज्ने नेपालीहरुको संख्या बाक्लै छ ।

कतिपय नेपाली स्वदेश फर्किने उद्देश्यले नेपाल–भारत सीमामा आएर अलपत्र परेका छन् । मन्त्रालयका प्रवक्ता तथा अस्पताल विकास चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले भारतबाट आउने नेपाली बढेसँगै क्वारेन्टाइनमा बस्नेको सख्या पनि दोब्बर भएको बताए ।

वाग्मती प्रदेशमा बुधवारसम्म ३ हजार ६ सय ७५ जना क्वारेन्टाइनमा बसेका छन् । मंगलबारसम्मको तथ्यांक अनुसार क्वारेन्टाइनमा बस्ने संख्या १ हजार ७ सय ५४ थयो । २४ घण्टाभित्र १ हजार ९ सय २० जना क्वारेन्टाइनमा बस्ने थपिएका छन् । संक्रमण नभएको तर संक्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई संक्रमणबाट रोक्न क्वारेन्टाइनमा राख्ने गरिन्छ ।

प्रदेशको १३ वटै जिल्लामा गरी ६ हजार ६ सय ९६ बेडको क्वारेन्टाइन तयारी अवस्थाका छन् । सबैभन्दा धेरै धदिङमा १ हजार ६० वटा क्वारेन्टाइन बेड छन् । जस्मा ६ सय २४ जना क्वारेन्टाइनमा बसेका छन् ।

चितवनमा ३ सय, नुवाकोटमा १ हजार २ र काठमाडौंमा ७ सय ९९ क्वारेन्टाइन बेड स्थापना गरिएको छ । जसमध्ये चितवनमा क्वारेन्टाइन बेडको क्षमता भन्दा धेरै १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा बसेका छन् । प्रदेशभरी क्वारेन्टाइनमा बस्नेको संख्या चितवनको धेरै हो । मंगलबारसम्म चितवनमा १९ जनामात्रै क्वारेन्टाइनमा बसेका थिए ।

नुवाकोटका ५ सय ३९ जना क्वारेन्टाइनमा बसेका छन् भने काठमाडौंमा क्वारेन्टाइनमा बस्नेको ४० छ । ६ सय १९ क्वारेन्टाइन बेड स्थापना गरिएको दोलखामा क्वारेन्टाइनमा बस्नेको संख्या ३ सय ८६ छ । ३ दिनअघि काठमाडौं र दोलखाको क्वारेन्टाइन र आइसोलेसन खाली थियो ।

सिन्धुलीमा १ सय ९०, ललितपुरमा ६८, मकवानपुरमा ९३, रामेछापमा १ सय ४२, काभ्रेमा ९७ र सिन्धुपाल्चोकमा ९२ जना क्वारेन्टाइनमा बसेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्यामा भने वृद्धि भएको छैन् । प्रदेशका सबै जिल्लामा गरी कुल ९ सय ९१ आइसोलेसन बेड तयारी अवस्थामा छन् । ४३ जना मात्रै आइसोलेसनमा बसेका छन् । कुनै व्यक्तिमा संक्रमण देखिएमा वा मिल्दोजुल्दो लक्षण भएमा चिकित्सकको निगरानीमा छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिएको छ ।

आइसोलेसनमा बस्ने सबैभन्दा धेरै मकवानपुरका ८ र चितवनका१२ जना छन् । सिन्धुपाल्चोकका ५, धादिङका ६, भक्तपुरका ४, ललितपुर र रामेछापका समान ३–३ जना तथा नुवाकोटका २ जनामात्रै आइसोलेसनमा छन् ।

३१ जना कोरोना संक्रमित डिस्चार्ज

वाग्मती प्रदेशमा बुधवारसम्मको तथ्याङ अनुसार ३१ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा देखिएका ५७ जना संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका हुन् । बाँकी २३ जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । कुल संक्रमित मध्ये सिन्धुपाल्चोक, ललितपुर र दोलखाका गरी समान एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशका १३ वटै जिल्लामध्ये रसुवामा कोरोना संक्रमित भेटिएका छन् । प्रदेशमा सबैभन्दा धेरै संक्रमित काठमाडौंमा २३ र मकवानपुरमा ६ जना देखिएको मन्त्रालयले जनाएको छ । चितवनमा ६, भक्तपुरमा ५, धादिङ ४, सिन्धुपाल्चोक र सिन्धुलीमा २–२, काभ्रे, रामेछाप र दोलखामा समान १–१, ललितपुर र नुवाकोटमा ३–३, जना संक्रमित देखिएका छन् ।

प्रदेशमा हालसम्म ९ हजार ८ सय ६ जनाको पीसीआरबाट स्वाब परीक्षण गरिएको छ । आरडीटीबाट २६ हजार ५१ जनाको एन्टिबडी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आरडीटीबाट परीक्षण गर्दा हालसम्म ५ सय १७ जनामा पोजेटिभ देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*