दुई महिनादेखि बन्द हेटौँडाको तरकारी बजार खुल्यो

बाइलाइन नेपाल
२२ जेष्ठ २०७७, बिहीबार १३:३५
फाइल फोटो

मकवानपुर प्रशासनले करिब दुई  महिनादेखि बन्द गराएको हेटौँडास्थित तरकारी बजार खोल्न अनुमति दिएको छ । हेटौँडाको बसपार्क र खोपेगल्लीमा सञ्चालित तरकारी बजार प्रशासनको अनुमतिमा खुलेको छ ।

संघीय सरकारकोले कृषिजन्य सामग्री ढुवानी नरोक्न परिपत्र गरेपछि प्रशासनले तरकारी बजार खोल्न अनुमति दिएको हो । हेटौँडा–१० बसर्पाक र ४ नम्बर वडाको खोपेगल्लीस्थित तरकारी बजार बिहीबार बिहानदेखि खुलेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । ११ चैतदेखि लकडाउन सुरु भएको केही दिन खुलेको तरकारी बजार बुधबारसम्म बन्द थियो ।

बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी बजार खोल्न अनुमति दिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले शिलापत्रलाई बताए । कोरोना संक्रमण फैलन सक्ने अवस्थाका कारण तरकारी बजार बन्द गराएको नेपालको भनाइ छ ।

प्रशासनले हेटौँडा उपमहानगरपालिका कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघलाई तरकारी बजारको व्यवस्थापनको जिम्मेवारी दिएको छ । नगर प्रहरी र संघका प्रतिनिधिको संयुक्त सहभागितामा तरकारी बजारलाई व्यवस्थापन गरेर सञ्चालन गरिने प्रशासनले जानकारी दिएको छ ।

वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले खोपेगल्ली र बसपार्कको तरकारी बजार उचित व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको बताए । उपभोक्तालाई सामाजिक दूरी कायम गराउन कडाइका साथ निगरानी गर्ने, व्यवसायी र उपभोक्तालाई स्वास्थ्य सुरक्षा सामग्री लगाउन अनिवार्य गराइने अध्यक्ष कटुवालले बताए ।

बसपार्क र खोपेगल्ली गरेर करिब १ सय वटा तरकारीका खुद्रा पसल सञ्चालनमा थिए । उपभोक्ताले तरकारी बिक्री वितरण सहज बनाउन आग्रह गरेपछि खोपेगल्लीमा प्रशासनले सामाजिक दूरी कायम गरी तरकारी बिक्री वितरण गर्न अनुमति दिएको थियो । तर, तरकारी व्यवसायीले लापरबाही गरेको भन्दै प्रशासनले पुनः बन्द गराएको थियो ।

१० नम्बर वडा कार्यालय, टोल विकास संस्था र युवा क्लबले तरकारी बजारमा हुने भीडभाडका कारण कोरोना संक्रमण बढ्ने सक्ने अवस्थालाई मध्यनजर गर्दै बन्द गर्न आग्रह गरेपछि विगत २ महिनादेखि प्रशासनले बसपार्कको तरकारी बजार बन्द गरेको थियो । भारतबाट निर्वाध रूपमा तरकारी बोक्ने गाडी हेटौँडा भित्रिएपछि कोरोना संक्रमणको त्रास स्थानीयमा बढेको थियो ।

तरकारी बजार बन्द भएपछि मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा सहकारीमार्फत् एकीकृत प्रणालीबाट तरकारी बिक्री वितरण हुँदै आएको थियो । उपभोक्ताले १ सय रुपैयाँमा ५ केजीका दरले मुला, बन्दा, काउलीलगायतका तरकारी खरिद गर्न पाएका थिए ।

यहाँका तरकारी बजार लामो समयदेखि बन्द हुँदा मकवानपुरका तरकारी उत्पादक किसानले लाखौं घाटा व्यहोर्नु परेको छ ।

तरकारी उत्पादनको पकेट क्षेत्र मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका, मकवानपुरगढी र मनहरी गाउँपालिकाकाका सयौँ किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिएको छ । उत्पादित तरकारीले बजार नपाउँदा खेतमै लाखौँको तरकारी कुहिएको किसानको गुनासो छ ।

थाहा नगरमा उत्पादित तरकारीको मुख्य बजार काठमाडौँ हो । काठमाडौंको कालिमाटीलगायतका तरकारी बजार बन्द भएपछि तरकारी खेतमै कुहिएको किसानको गुनासो छ । तरकारी ढुवानी गर्ने सवारी नपाउँदा किसानले तरकारी बजारसम्म पुर्‍याउन सकेनन् ।

मनहरी र मकवानपुरगढीका किसानले उत्पादन गरेका तरकारी पनि खेतमै कुहिएको छ । तरकारी बजार बन्द भएपछि कतिपय किसानले हेटौँडा बजारको फुटपाथमा राखेर तरकारी बिक्री वितरण गरेका थिए । तरकारीले उचित मूल्यसमेत नपाएको किसानको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*