लकडाउन उलङ्घन गर्ने व्यवसायीहरुको घोषणाः भोलिबाट बजार खुल्ने

बाइलाइन नेपाल
२१ जेष्ठ २०७७, बुधबार २०:०२

लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

बुधबार बसेको महासंघको निर्णयले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ ।

उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

महासंघले बजार खुलाउनु पर्नाका तीनवटा कारण उल्लेख गरेको छ । सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको अध्यक्ष कटुवालले बताए ।

हेटौंडामा बुधबारबाटै लकडाउनको उल्ङ्घन

हेटौंडा पनि बुधबारबाटै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा लकडाउनको समयमा हेटौंडा बजारका सबै किसिमका व्यवसाय सञ्चालनको प्रयार गरेको छ । बुधबार बिहान हेटौंडा बजारका अधिकांश पसल खुलेका थिए ।

प्रहरीले बन्द गराउन खोजे पनि अन्तमा पछि हटेको थियो । संघले जेठ १९ गते पत्रकार सम्मेलन गरेर २१ गतेबाट लकडाउन नमान्ने, सबै व्यवसाय सञ्चालन गर्ने बताएको थियो । बिहानैबाट संघका केन्द्रीय तथा जिल्ल नेतृत्व पसल तथा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्ने र प्रहरीले बन्द गर्ने क्रम बढेपछि विवाद पनि भएको थियो ।

लकडाउन कार्यन्वयन गराउने जिल्लाको कमाण्ड पोष्टमै रहेको मकवानपुर उद्योग वाणिज्यकै नेतृत्वमा बजार सञ्चालन हुन थालेपछि प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पनि लकडाउन उल्लघन गर्न नदिन प्रहरीलाई निर्देशन दिएका छन् । संघले बजार खोल्ने र प्रशासनले खोल्न नदिने बताएपछि भोली बजारमा थप तनाव उत्पन्न हुने देखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*