देशमा स्वास्थ्य संकटकाल घोषणाको तयारी
कोरोना भाइरसको संक्रमणका कारण देश थलापरेपछि स्वास्थ्य संकटकाल घोषणाको तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।
बुधबार मन्त्रालयमा बसेको बैठकले २ हजार भन्दा बढी कोरोना संक्रमणको केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत स्वास्थ्य संकटकाल घोषणाको लागि मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको जनाइएको छ ।
संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।
सोही ऐनलाई टेकेर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले बताए । उनले भने, स्वास्थ्य संकटकालको मापदण्ड मन्त्रिपरिषदले स्वीकृत गरेपछि जारी गर्छौ ।’
डा. लोहनीको अनुसार संक्रमणको रफ्तार बढ्दै जाँदा अस्पतालको बेड, क्वारेण्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो । ‘संक्रमणको रफ्तार बढ्दै गएपछि पहिले भन्दा बढी सचेत हुनुपर्छ, सोही कारण यो निर्णय गरिएको हो’ उनले भने।
मन्त्रालयले गत मे महिनामा बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा २ हजार भन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ ।
यस्तै दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । यस्तै पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ ।
१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड(१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने ५ सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो।
‘अक्सिजन सपोर्ट, आईसीयू नचाहिने र लक्षण नभएकाहरुलाई घरमै आइसोलेट गर्ने पहिलेदेखिकै तयारी थियो’ डा. लोहनीले भने, ‘त्यसो नगरिकन सबैलाई अस्पतालमा राख्दा हाम्रो पूर्वाधारले धान्दैन, अहिले त्यही अवस्था आउन लागेकाले हेल्थ इमर्जेन्सीको तयारी गरिएको हो ।’

बाइलाइन नेपाल











