हेटौंडा बजार सञ्चालन गर्ने विषयमा प्रशासन र मउवासंघबिच विवाद, भोली के हुन्छ ?

सीडीओ भन्छन्ः बजार सञ्चालन हुँदैन, मउवासंघ भन्छः अवज्ञा गर्छौ
बाइलाइन नेपाल
२१ जेष्ठ २०७७, बुधबार १३:२३

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा लकडाउनको समयमा हेटौंडा बजारका सबै किसिमका व्यवसाय सञ्चालन गर्न खोजेपछि विवाद सुरु भएको छ ।

संघले जेठ १९ गते पत्रकार सम्मेलन गरेर २१ गतेबाट लकडाउन नमान्ने, सबै व्यवसाय सञ्चालन गर्ने बताएको थियो । आज बिहानैबाट संघका केन्द्रीय तथा जिल्ल नेतृत्व पसल तथा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्ने र प्रहरीले बन्द गर्ने क्रम बढेपछि विवाद सुरु भएको हो ।

लकडाउन कार्यन्वयन गराउने जिल्लाको कमाण्ड पोष्टमै रहेको मकवानपुर उद्योग वाणिज्यकै नेतृत्वमा बजार सञ्चालन हुन थालेपछि प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पनि लकडाउन उल्लघन गर्न नदिन प्रहरीलाई निर्देशन दिएका छन् । संघले बजार खोल्ने र प्रशासनले खोल्न नदिने बताएपछि भोली बजारमा थप तनाव उत्पन्न हुने देखिएको छ ।

आज बुधबार बिहानै व्यवसाय खुलाउँदै हिँडेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, संघका मकवानपुर अध्यक्ष कृष्ण कटुवालसहितको टोलीलाई प्रहरीले लकडाउनको पूर्ण पालना गराउनु भन्ने आदेश भएको भन्दै पसल खोल्न रोकेपछि विवाद चर्कीएको हो। अध्यक्ष कटुवालसहितको उद्योगी व्यवसायीका नेताहरु पसल व्यवसाय खुलाउँदै थिए भने प्रहरी लकडाउनको पालना गराउन पसल व्यवसाय बन्द गराउँदै थिए । ब्यवसायी र प्रहरीबिचको विवादको कारण केहिबेर बजार क्षेत्रमा तनावको अवस्था सृजना भएको थियो।

कानुन सबैलाई बराबर होः सीडीओ

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नेपालले अहिले नेपाल सरकारले लकडाउन घोषण गरेकोमा मकवानपुरमा पनि लकडाउन पालना गराउने आफ्नो दायित्व भएको बताए । लकडाउनको उल्लघंन गरेर बजार खोलिए प्रहरी परिचालन गरि बन्द गरिने उनको भनाइ छ ।

उनले सबैलाई कानुन बराबर हुने भन्दै हेटौडामा पनि लकडाउन पालना गराउन आफूहरु अनुगमनमा निरन्तर लागिरहेको प्रतिक्रिया दिए ।देशैभरी ब्यवसाय बन्द रहेको अवस्थामा सरकारको आदेशको पूर्ण पालना गर्ने बताए । उनले गृहबाट आदेश भएका व्यवसायलाई बिहान ९ बजेसम्म सञ्चालन गर्न दिएको उल्लेख गर्दै अरु व्यवसायको हकमा अहिले कुनै सम्भावना नरहेको सीडीओ नेपालले उल्लेख गरे ।

अति भो अब अवज्ञ गर्छौः अध्यक्ष कटुवाल

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बजार खोलेको विषयमा मकवानपुरको प्रशासनले बल प्रयोग गरि बन्द गर्न खोजे आफुहरुले अबज्ञा गर्ने बताएका छन् । उनले लकडाउन अब अति भएको र व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए । भएका सामान पनि उपभोग गर्ने मिति सकिने र बिग्रने अवस्थामा पुगिसक्यो अब सहेर बस्न नसक्ने बताए ।

लकडाउनको कारण ब्यवसायीहरु मारमा परेको र सरकारले जेठ २५ सम्म कर दाखिला गर्नको लागि भनेको भन्दै उनले राज्यले व्यवसायीलाई मारमा पारिरहेको बताए ।
उनले आज भएको विवादको बिषयमा आफुहरु प्रशासनसँग सम्वादकै चरणमा रहेकाले पसल खुल्ने बतावरण बन्नेमा आफु विस्वस्त रहेको बताए । उनले आफुहरुले बिहान ६ देखि ९ बजेसम्म सुरक्षाको सावधानी अपनाएर ब्यवसाय सञ्चालन गर्ने कुरा गरेको भन्दै उनले सामजिक तथा भौतिक दुरी कायम गरि ब्यवसाय सञ्चालन गर्न दिनको लागि उहाले आग्रह समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*