जोखिम बढेसँगै क्वारेन्टाइन थप्दै हेटौंडा उपमहानगरपालिका

बाइलाइन नेपाल
२० जेष्ठ २०७७, मंगलवार १९:२४

बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोनाको जोखिम बढ्दै जाँदा हेटौंडा उपमहानगरपालिकाले १० नम्बर वडास्थित गोरक्षस्वरमा २५ शैय्याको क्वारेन्टाइन निर्माण गरेको छ। अब हेटौंडा बजार क्षेत्रमा कोरोनाको शंका लागेका बिरामीलाई राख्न सकिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए।

हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को क्याम्पस भवनमा आईसोलेसन बनाइने भएको छ। उपमहानगरपालिकाले यस क्याम्पसलाई कोरोना विशेष अस्पताल बनाउन शनिबारबाट काम सुरु गरेको महतले बताए। संक्रमितको संख्या बढ्दै जाँदा भारत लगायतका देशबाट फर्कने युवासमेत बढेकाले जोखिम कम गर्न कोरोना विशेष अस्पताल बनाउन लागिएको हो।

हेटौंडाका १९ वटै वडामा रहेका विद्यालयलाई पनि वडा कार्यालयले अस्थायी रूपमा क्वारेन्टाइन निर्माण गर्न सुरु गरेको जनाएका छन्। कोरोना भाइरसका संक्रमित फेला पर्न थालेपछि उपमहानगरपालिकाले कोरोना प्रकोप व्यवस्थापनमा चासो बढाएर ५० लाख रुपैयाँ बजेटसमेत छुट्याएको छ। यसअघि पनि करिब ७० लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरी उपमहानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएकालाई वितरण गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*