मकवानपुर उद्योग वाणिज्य संघको चेतावनीः अब लकडाउन मानिदैन,२१ गतेदेखि बजार खोलिन्छ
हेटौंडा । मकवानपुर उद्योग वाणिज् संघले लकडाउनलाई नमान्ने चेतावनी दिएको छ । लकडाउनका कारण व्यवसाय धरासयी भएको भन्दै संघले अब बजार सञ्चालन गर्ने जनाएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा आज सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै जेठ २१ गते बुधबारबाट बजार खुलाउने तयारी गरिएको जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि कुनै प्रतिक्रिया नआएको भन्दैसंघले बाध्य भएर बजार खुलाउने निर्णय गर्नु परेको बताए । उनले सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय भएको जानकारी दिए ।
‘प्रशासन समक्ष आग्रह गरियो तर, प्रशासनले संघीय सरकारकै अनुमति चाहिने भन्दै हामीलाई वेवास्ता गरिरह्यो त्यसैले अब बजार खुल्छ ।–’ न्यौपानेले भने । ११ चैतदेखि जारी लकडाउनले व्यवसायीहरु चरम पीडामा परेको भन्दै सुरक्षा संवेदनशीलता अपनाएर बजार खुलाइने संघले जनाएको छ ।
व्यवसायीहरुमा बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानहरुको म्याद गुज्रिने तथा क्षति हुन सक्ने सम्भावित अवस्थाले मानसिक तनावमा रहेको वरिष्ठ उपाध्यक्ष न्यौपानेको भनाइ छ ।
‘यी सबै अवस्थालाई अबका दिनमा सहन सक्ने स्थिति नआएको हुँदा सरकारले अनुमति नदिएपनि हामी बजार खुलाउने तयारीमा पुगेका हौं ।–’ उनले भने –‘२१ जेठदेखि सबै व्यवसायीहरुलाई सुरक्षा अप्नाउँदै व्यवसाय सुचारु गर्ने वातावरण मिलाइदिन संघीय सरकार समक्ष अनुरोध पनि गर्दछौं ।’ उपभोक्ताहरुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाएर किनमेल गर्न आउन संघले अनुरोध गरेको छ ।
मकवानपुर प्रशासनले हरेक दिन बिहान ९ बजेसम्म अत्यावश्यक वस्तुका पसल खुल्न अनुमति दिएको छ । सोही समयमा हेटौंडामा प्रशासनको अनुमति बेगर अत्यावश्कभित्र नपर्ने पसलहरु पनि खुल्ने गरेका छन् ।

बाइलाइन नेपाल











