राक्सिराङमा ढुङ्गागिट्टी बालुवा उत्खनन् सुचारु हुने
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको मनहरी खोलामा भइरहेको उत्खनन् पुनः सुचारु हुने भएको छ । तोकिएको भन्दा बढी उत्खनन् भएको आशंकाको आधारमा गत शुक्रबार जिल्ला अनुगमन समितिले उत्खनन् रोकी पुनः नापजाँच गर्न उपसमिति बनाएको थियो ।
उपसमितिले आइतबार नापजाँच गर्दा अझै करिब १४ हजार घनमिटर उत्खनन् हुन बाँकी रहेको पाइएपछि जिल्ला अनुगमन समितिले पुनः उत्खनन्लाई निरन्तरता दिन अनुमति दिएको हो । डिभिजन वन कार्यालय मनहरीका प्रमुख दीर्घनारायण कोइरालाको नेतृत्वमा बनेको अनुगमन उपसमितिले आइतबार नापजाँच गर्दा मनहरी खोलाको १६ वटा प्वाइन्टबाट हालसम्म ३५ हजार ६ सय १४ घनमिटर मात्र उत्खनन् भएको प्रतिवेदन जिल्ला अनुगमन समितिलाई बुझाएको थियो ।
खोलामा भएको उत्खनन्को नापजाँच गर्न उपसमिति संयोजक कोइरालासहित इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, नागरिक समाजका खुसीलाल चेपाङ, सुदिप लामा, गाउँपालिका प्रतिनिधि बलराम घिमिरे, सुजन मोक्तान, पत्रकार शिवकुमार रिजाललगायतको सहभागिता रहेको थियो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले करिब ५१ हजार घनमिटर ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने गरी अर्वान विल्डर्स एण्ड सप्लायर्स प्रालिलाई ठेक्का दिएको थियो । पुनः जाँच प्रतिवेदनअनुसार ठेकेदार कम्पनीले अझै १४ हजार ५ सय ६३ घनमिटर ढुंगागिट्टी बालुवा उत्खनन् गर्न पाउँछ ।
आफूहरुले बनाएको उपसमितिको प्रतिवेदनको आधारमा पुनः उत्खनन् सुरु गर्न मौखिक रुपमा जानकारी गराइएको बताउँदै जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका जिल्ला अनुगमन समिति प्रमुख रघुनाथ खुलालले आफूहरुले आजबाट नै उत्खनन् सुरु गर्न गाउँपालिकालाई आधिकारिक पत्र पठाउन लागिएको जानकारी दिए । स्थानीय तहले दैनिक निगरानी गर्ने र उत्खनन्को रिपोर्ट दैनिक रुपमा जिल्ला समन्वय समितिमा पठाउने गरी पुनः उत्खनन् अनुमति दिइएको उनले बताए ।
कानुनभन्दा बाहिर गएर उत्खनन् गरिएको दावी गर्दै केहीदिनअघि केही स्थानीयहरुले काममा अवरोध गर्दै आएका थिए । सोही गुनासोपछि जिल्ला अनुगमन समिति संयोजक खुलालसहितको टोलीले शुक्रबार स्थलगत अनुगमन गरी केही बढी परिमाण उत्खनन् भएको हुनसक्ने आशंका गर्दै नापजाँचको रिपोर्ट नआएसम्म काम रोक्न निर्देशन दिएको थियो । गाउँपालिकाले चालु वर्षमा भ्याटसहित २ करोड ७५ लाख ९५ हजार रुपैयाँमा ढुंगागिट्टी बालुवाको ठेक्का लगाएको थियो । प्रदेश सञ्चार डटकमबाट

बाइलाइन नेपाल











