सरकारले अर्को सातादेखि विदेशमा रहेका नेपालीलाई ल्याउने

बाइलाइन नेपाल
१७ जेष्ठ २०७७, शनिबार ०७:४५

सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ। शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो।

आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्‍न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थाका व्यक्तिलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन्।

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई स्वदेश फर्काइने उनले बताएका छन्।

स्वदेश फर्किनका लागि सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ। सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गर्नेछ।

सचिव विडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्रमन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयलाई दिनेछ। पर्यटन मन्त्रालयले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*