सर्वोच्चको ऐतिहासिक फैसलाः लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

बाइलाइन नेपाल
१६ जेष्ठ २०७७, शुक्रबार ०७:११

सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहितको १९ जना न्यायाधीश सम्मिलित बृहत्तर प्रकृतिको इजलासले शून्य अवधीलाई हदम्याद, म्याद तारिख वा यस्तै अदालतमा वा कुनै न्यायिक वा अद्र्धन्यायिक निकायमा प्रस्तुत गर्नुपर्ने फिरादपत्र, प्रतिउत्तर, अभियोगपत्र, पुनरावेदन पत्र, कुनै खास म्याद वा अवधिमा दिनुपर्ने भनी किटान गरिएको निवेदनमा पनि ३० दिनको समय कायम हुने फैसला गरेको छ ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले तयार पारेको प्रतिवेदन तथा अधिवक्ताहरु टीकाराम भट्टराई र महेश्वर श्रेष्ठले दायर गरेको रिटलाई सँगै राखेर सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।

फैसलाअनुसार लकडाउन खुलेको एक महिनाको अवधिमा मुद्दाका पक्षहरुले हदम्याद नाघेको भए पनि मुद्दा दायर गर्न, तारिख लिन, पुनरावेदन गर्न पाउनेछन् । एकैसाथ १९ जना न्यायाधीशहरु बस्न इजलासको अभाव भएपछि भूकम्पको बेला सर्वोच्च अदालत परिसरमा स्थापित पालमा निर्मित हलमा नै इजलास बनाइएको थियो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*