भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न संघीय सरकारले सहकार्य गर्ने
हेटौंडा । बाग्मती प्रदेश सरकारले गौरवको योजनामा राखेर निर्माण गर्न लागेको भीमफेदी–कुलेखानी सुरुङमार्गमा संघीय सरकारले बजेट मार्फत् सम्बोधन गरेको छ । आज संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको बजेट भाषणमा भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
यसैवर्ष देखि निर्माणको तयारी गरिरहेको बाग्मती प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि संघीय सरकारलाई सहकार्यका लागि केही दिन अघि आग्रह गरेको थियो । प्रदेश सरकारको आग्रहलाइृ बजेट भाषण मार्फत सम्बोधन गर्दै संघीय सरकारले भनेको छ–‘ प्रदेश सरकारसँगको सहकायर्मा कुलेखानी–भमफेदी सडक खण्डमा सुरुङ मार्ग निमार्णको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइनेछ।’
सुरुङ निर्माणको विषयलाई संघीय सरकारले बजेटमा उल्लेख गरेसँगै प्रदेश सरकारलाई निर्माणमा थप बल मिल्ने भएको छ । वर्षैदेखि निर्माणको चर्चा भएपनि अलपत्र रहेको सुरुङमार्ग निर्माणको काम अब अगाडि बढ्ने देखिन्छ ।
चार आर्थिक वर्षमा सुरुङमार्ग निर्माण गरिसक्ने लक्ष्य लिएको प्रदेश सरकारले १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ लाग्ने अनुमान गरेको छ । प्रदेशको आर्थिक मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब, आव २०७८/०७९ र २०७९/०८० मा ६, ६ अर्ब र आव २०८०/ ०८१ मा ४ अर्ब ७२ लाख ७ सय ७६ रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ ।
यसैगरी, सुरुङमार्ग आयोजनाको सुरपरीवेक्षण परामर्श सेवाका लागि ५७ करोड ९८ हजार र मार्ग निर्माण गर्दा प्रभावित हुने क्षेत्रलाई मुआब्जा दिनका लागि समेत गरेर अर्थ मन्त्रालयले १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको दुई वर्ष भइसकेको छ । केही समय अघि बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले २०७७ वैशाखबाट निर्माण सुरु हुने बताएका थिए ।
भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ । अहिले सुरुङमार्गको डीपीआर अन्तिम चरणमा रहेको जनाइएको छ ।

बाइलाइन नेपाल











