भीमफेदी गाउँपालिकाका सबै वडामा दादुरा रूबेला विरुद्धको खोप लगाउन सुरु

बाइलाइन नेपाल
१२ जेष्ठ २०७७, सोमबार १३:५२

हेटौंडा । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि स्थगित भएको दादुरा रूबेला विरुद्धको खोप शिविर भीमफेदी गाउँपालिकामा जेठ ११ गते आइतबारदेखि सुरु गरिएको छ ।

गाउँपालिकाको ९ वटै वडाको विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरेर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन थालिएको गाउँपालिकाका कार्यालयका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङले जानकारी दिए ।

यसअघि गाउँपालिकाले २०७६ चैत ११ गतेदेखि खोप लगाउने तयारी गरेपनि लकडाउनका कारण रोकिएको थियो ।

अहिले वडामा रहेका विभिन्न खोप केन्द्रमा कोरोनाबाट बच्न स्वास्थ्य उपकरणको प्रयोग र दुरी कायम गरेर खोप लगाउने काम भइरहेको थिङले जानकारी दिए । उनले गाउँपालिकाको ९ वटै वडाहरुको विभिन्न टोल तथा स्थानमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई अनिवार्य रुपमा दादुरा–रुबेला विरुद्धको खोप लगाउन आग्रह गरेका छन् ।

खोप लगाउन तथा केन्द्रका बारेमा जानकारीका लागि गाउँपालिकाले सम्पर्क व्यक्ति तोकेको छ । जसमा वडा नम्बर १ सम्झना दर्लामी, वडा नम्बर २ मा एलिजा पुडासैनी , वडा नम्बर ३ र ४ मा अञ्जु झा, वडा नम्बर ५ र ६ मा सुनिलकुमार झा र डा. प्रविण पाठक, वडा नम्बर ७ मा ध्रुवप्रसाद कोइरला, वडा नम्बर ८ मा हरिशचन्द्र न्यौपाने र वडा नम्बर ९ मा मञ्जु थिङलाई तोकिएको छ ।

भीमफेदी गाउँपालिका स्वास्थ शाखाले भीमफेदीका एक स्वास्थ्य केन्द्र ,चार स्वास्थ्य चौकी तथा तीन ईकाईका सम्पुर्ण प्राविधिक, चिकित्सक, कर्मचारीलाई कोरोनाको आर डीटी परीक्षण पश्चात् खोप शिविरमा खटाएको स्वास्थ्य प्रमुख थिङले जानकारी दिए ।

अहिले खोप लगाउन जाने प्राविधिक, कर्मचारीलाई सुरक्षित सामग्रीसहित कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानिको प्रशिक्षणसहित सेवा क्षेत्रमा खटाईएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*