वाग्मती प्रदेशको बजेट अधिवेशन आजदेखि, सांसदहरुको स्वाब परीक्षण

बाइलाइन नेपाल
१२ जेष्ठ २०७७, सोमबार ०६:४१

हेटौंडा । वाग्मती प्रदेशसभाको छैठौँ बजेट अधिवेशन (बजेट अधिवेशन) आज जेठ १२ गतेबाट सुरु हुने भएको छ ।

अधिवेशन बैठकको पहिलो दिन आज आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारद्वारा आगामी आवको बजेटको लागि प्रस्तुत गरिने आर्थिक पक्षको सैद्दान्तिक विषयमा छलफलको लागि विधेयक प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

उक्त आर्थिक विधेयकमाथि आज १२ र १३ गते छलफल हुने पनि सचिवालयले जनाइएको छ ।

प्रदेशसभाको बैठकको लागि सभा कक्षमा सामाजिका दुरी कायम गरी बस्ने कुर्सीको र सेनिटाइजरको व्यवस्था मिलाइएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभाको बैठकको समाचार सम्प्रेषणको लागि संचारकर्मीहरुको लागि बस्ने छुट्टै कक्षको पनि व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभा बैठकमा जाँदा मुख्य गेटमै कोरोना भाइरसको परिक्षणको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र संसदमा छिर्न दिने नियम बनाउनुपर्ने केही सांसदको माग रहेको छ ।

प्रदेशका मन्त्री र केही सांसदहरुले भने आवश्यकताको आधारमा मात्र कोरोनाको परीक्षण गर्नुपर्ने माग गरेका छन् । बैठक जानु भन्दा अगाडि पीसीआर गर्नका लागि प्रदेशसभाका सांसदहरु दौडधूपमा लागेका छन् ।

आफुले कोरोना परीक्षण गरेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । ‘कोरोना परीक्षण गर्नै किटको अभाव भइरहेको समयमा हामिले अनिवार्य गरेका छैनौ । तर प्रदेशसभाका कर्मचारी, मर्यादापालक सबैको कोरोना परीक्षण गरिएको छ । धेरै सांसदले आफ्नै जिल्लामा कोरोना परीक्षण गर्नुभएको छ । केहीको हेटौंडामा परीक्षण गरिएको हो ।’

पीसीआर नेगेटिभ रिपोर्ट नेदेखाइकन प्रदेशसभाको हलमा छिर्न नपाउने नियम बनाइएको वाग्मती प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । प्रदेशसभाका सबै कर्मचारी, मर्यादापालकको हेटौंडा अस्पतालमा पीसीआर जाँच गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*