बजेट अधिवेशका लागि बाग्मती प्रदेशका सांसदको स्वाब परीक्षण गरिने
हेटौंडा । कोरोना भाइरस संक्रमणको प्रभावले देशमा जारी लकडाउनकाबीच बाग्मती प्रदेशसभा बैठक बस्ने तयारी गरिएको छ । १२ जेठबाट बजेट अधिवेशन सुरु गर्ने गरी मन्त्रिपरिषद्ले सोमबार बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
प्रदेशसभा बैठक बस्नुपूर्व सबै प्रदेश सांसदको स्वाब परीक्षण गर्न प्रदेशसभा सचिवालयले बागमती प्रदेश सरकारलाई पत्राचार गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बैठकमा सहभागी हुने सांसदहरुको पीसीआरबाट स्वाब परीक्षण गरिने जानकारी दिए । उनले परीक्षण गराएर मात्रै बैठकमा सहभागी हुन पाउने बताए ।
सभामुख सानुकुमार श्रेष्ठले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी बैठक संचालन हुनुपूर्व सबै सांसदको स्वाब परीक्षण गरिने बताएका हुन् । उनले कोरोना प्रभावकै बीच बैठक संचालन गर्नुपर्ने भएकोले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबै सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र चालकको स्वाब परीक्षण गरेर मात्र प्रदेशसभा परिसरभित्र प्रवेश गराउने तयारी गरिएको जानकारी दिए ।
‘प्रदेशसभा आफैँमा संवेदनशील क्षेत्र हो,’ श्रेष्ठले भने, कोरोना प्रभावका बीच बैठक संचालन गर्दैछौँ, स्वाब परीक्षण अनिवार्य गर्नुपर्छ ।ु उनले हेटौँडामै प्रयोगशालामै स्वाब परीक्षणका लागि मुख्यमन्त्री डोरमणि पौडेलसँग यसअघि नै छलफल भइसकेको बताए । स्वाब परीक्षण नगरे बैठक संचालन गर्न समस्या हुने र प्रदेशसभा परिसर प्रवेशमा रोक लगाउनेबारे आफुले मुख्यमन्त्री पौडेललाई अवगत गराएको सभामुख श्रेष्ठको भनाइ छ ।
१ सय १० सांसद, ३५ जना प्रदेशसभाका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र चालकसहित करिब १ सय ५० जनाभन्दा बढीको स्वाब परीक्षण हुने जानकारी दिँदै बैठक अवधिभर स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग पनि अनिवार्य गर्नुपर्ने बताए । सांसदले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, सेनिटाइजर लगाउने पर्नेछ ।
सभामुख सानुकुमार श्रेष्ठले १५ जेठअघि प्रिबेजट र नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने भएकोले बैठक बोलाउन प्रदेश प्रमुखलाई मन्त्रिपरिषद्ले सिफारिस गरिसकेको बताए । उनले १ जेठअघि नै बैठक संचालन गर्ने तयारी गरे पनि कोरोना प्रभावका कारण सामाजिक दूरी कायम गर्न प्रदेशसभा भवनमा व्यवस्थापन गर्नुपर्ने भएकोले ढिलाइ भएको बताए ।

बाइलाइन नेपाल











