वाग्मतीमा १२ हजार व्यक्तिको आरडीटी परीक्षण, ६३ जनाको रिपोर्ट पोजिटिभ
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले कोरोना संक्रमित बढिरहेको अवस्थामा परीक्षणको दायरा पनि बढाएको छ ।
वाग्मती प्रदेशमा हालसम्म करिब १२ हजार जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट कोरोना परीक्षण गरिएको छ । वाग्मती प्रदेशका १३ वटै जिल्लामा गरी ११ हजार ९ सय २३ जनामा आरडीटी टेष्ट गरिएको हो ।
विशेष गरी कोरोनाको शंकास्पद व्यक्तिहरू र विदेशबाट फर्किएकाहरूलाई लक्षित गरी आरडीटी परीक्षण गरिएको छ । अन्य प्रदेशमा जस्तै वाग्मती प्रदेशमा पनि आरडीटी र पीसीआर परीक्षणमा तीव्रता दिइएको प्रदेशको सामाजिक विकास मन्त्रालयको दावी छ ।
आरडीटी गर्दा ६३ जना व्यक्तिको रिपोर्ट पोजिटिभ आएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले स्थापना गरेको हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोगशालामा आरडिटी र पीसीआरबाट कोरोना परीक्षण गरिँदै आएको छ ।
काठमाडौंमा ४ हजार २ सय ३३, भक्तपुरमा ९ सय २०, ललितपुरमा १ हजार १ सय २, रसुवामा १ सय १५, नुवाकोटमा ५ सय ५५, धादिङमा ७ सय ३९, चितवनमा ९ सय ८७, सिंधुलीमा ५ सय ७३, रामेछापमा २ सय २४, दोलखामा ४ सय १३, काभ्रेमा ७ सय ४ र सिन्धुपाल्चोकमा ६ सय ८१ जनामा आरडीटी परीक्षण गरिएको छ ।
प्रयोगशालामा हालसम्म ६ सय ३३ स्वाब संकलन गरी पीसीआरबाट परीक्षण गरिएको छ । जसमा ४ जनालाई पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा.पुरुषोत्तम राज सेढाईंले जानकारी दिए । ४ जना मध्ये ३ पुरुष र १ महिना छन् ।
हेटौँडाको प्रयोगशालामा मकवानपुरसहित चितवन, बारा, पर्सा, रौतहटलगायतका स्थानबाट स्वाब संकलन गरी कोरोना परीक्षण गरिँदै आएको छ । मकवानपुरका १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकामा गरी ७ सय ७७ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये ५ जनामा पोजिटिभ देखिए पनि पीसीआरबाट परीक्षण गर्दा रिपोर्ट नेगेटीभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।
हेटौँडाको प्रयोगशालामा आइतबार दिउँसोसम्म कोरोना परीक्षणको लागि ४६ वटा स्वाब प्राप्त भएको छ । यद्यपि ४६ वटा स्वाबको रिपोर्ट भने आउँन बाँकी छ । काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका ७ वर्षीय बालकको आफन्तको स्वाब पनि परीक्षण भइरहेको छ ।
वाग्मतीमा कोरोना संक्रमित १७ जना पुगे, १० जना उपचाररत्
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण वाग्मती प्रदेशमा आइतबारसम्म १७ जना संक्रमित देखापरेका छन् । १७ जनामध्ये १० जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६ जनालाई निको भएको मन्त्रालयले जानकरा दिएको छ । काठमाडौंमा ४, चितवनमा १, मकवानपुरमा १, धादिङमा १, काभ्रेमा १, भक्तपुरमा २ जनाको उपचार भइरहेको छ ।

बाइलाइन नेपाल











