लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

बाइलाइन नेपाल
४ जेष्ठ २०७७, आईतवार २०:२४

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।

नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ । तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ ।

सरकारले लकडाउनको समयसीमा थप गरेको यो पाचौं पटक हो ।

यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पुर्याइएको थियो ।

यसैगरी त्यसपछि पुनः जेठ ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन गरेको थियो ।

त्यस्तै सरकारले पछिल्लो समय थप गरेको लकडाउनको समयसीमा पनि सोमबार मध्यराति सकिँदै थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*