साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुग्यो

बाइलाइन नेपाल
३१ बैशाख २०७७, बुधबार ०६:३०

साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ ।

रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।

सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास रियादले जनाएको छ। संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका छन् ।

साउदीमा कोरोना भाइरसबाट सबै देशका नागरिक गरी कुल संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् ।

कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हालसम्म मंगलबार ९ जना सहित २६४ जना संक्रमितको मृत्यु भएको छ ।

दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले ३१ नेपाली नागरिक को मृत्यु भएको छ।ती मध्य कोरोनाका कारण भने एक जना नेपालीले ज्यान गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*