भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण २०७७ बाट सुरु हुने, अर्थ मन्त्रालयले गर्यो स्रोतको सुनिश्चितता

बाइलाइन नेपाल
२८ बैशाख २०७७, आईतवार १७:२९

हेटौंडा ।निजी क्षेत्रको कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्न नसकेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी) को काम अब बाग्मती प्रदेश सरकारले सुरु गर्ने भएको छ ।

प्रदेश सरकारले निर्माण गर्ने चर्चा भएपनि काम सुरु नभएको सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको पत्र आर्थिक मामिला तथा योजना मन्त्रालयले आईतबार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

स्रोत सुनिश्चित भएसँगै बाग्मती प्रदेश सरकारले सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयले पठाएको पत्रमा तीनवटा आर्थिक वर्षमा मार्गको निर्माण गर्न बजेट उपलब्ध गराएको छ । जसमा सुरुङमार्ग निर्माण गर्न १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब, आव २०७८/०७९ र २०७९/०८० मा ६, ६ अर्ब र आव २०८०/ ०८१ मा ४ अर्ब ७२ लाख ७ सय ७६ रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ । खरिदको विधि अन्तर्रा्ष्ट्रिय शिलबन्दी बोलपत्र मार्फत् गर्ने जनाइएको छ ।

यसैगरी, सुरुङमार्ग आयोजनाको सुरपरीवेक्षण परामर्श सेवाका लागि ५७ करोड ९८ हजार र मार्ग निर्माण गर्दा प्रभावित हुने क्षेत्रलाई मुआब्जा दिनका लागि समेत गरेर अर्थ मन्त्रालयले १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको दुई वर्ष भइसकेको छ । केही समय अघि बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले भीमफेदी गाउँपालिका पुगेर सुरुङमार्ग निर्माण स्थलको निरीक्षण गर्दै २०७७ वैशाखबाट निर्माण सुरु हुने बताएका थिए ।

मार्ग निर्माणका लागि अहिले प्राविधिक अध्ययनको काम भइरहेको उल्लेख गर्दै मन्त्री फुँयालले जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ । अहिले सुरुङमार्गको डीपीआर अन्तिम चरणमा रहेको जनाइएको छ ।-यसअघि १९ अर्ब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।–सम्पादक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*