विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा
अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनेसहितका संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालीभूमि मिचेर भारतले सडक निमाण गरिएकोप्रति आपत्ति जनाए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउन भएको मौका छोप्दै भारतले नेपालीभूमी मिचेर चीनको सीमा मानसरोवर जोड्ने सडक निर्माण गरेर नांगो हस्तक्षेपलाई बढाएको बताए ।
‘कारोना महामारीका कारण विश्व लकडाउनमा रहेको मौका छोपी नेपालको लिपुलेक, कालापानी क्षेत्रमाथि भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेपलाई अरु बढाएको छ । गत कार्तिकमा भारतद्वारा लिपुलेकको ३७२ वर्ग किलोमिटर सीमा अतिक्रमण गरेपछि नेपालका सबै देशभक्त तथा राष्ट्रवादीहरू आन्दोलित भइरहेको बेला फेरि भारतीय शासक वर्गले मानसरोबर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत् उक्त सडकको उद्घाटन गरेका छन । यो नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्बभौम सत्तामाथिको नांगो हस्तक्षेप हो ।’
बिकले भारतले आफ्नो भूमिमा सडक निर्माण गरिसक्दा पनि नेपाली दलाल शासकहरुले आफूलाई थाहै नभएको भन्दै निर्लज्जता प्रदर्शन गरिरहेको बताए ।
भारतले नेपालीभूमि मिचेर चीनसम्म जोड्ने सडक निर्माण गर्दा पनि नेपाली शासकहरुले चालै नपाएको बताउनु र नागरिक सडकमा आइसक्दा पनि सरकारले औपचारिकतामा सिमित भएको बिकले बताए ।
अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक क्षेत्रमाथिको हस्तक्षेपविरुद्ध कार्तिक २४ गते काठमाडौंमा विरोध गर्दा ४२ जना नेताकार्यकर्तामाथि झुटा मुद्दा खेपिरहेको बेला अतिक्रमण बढेकोले पुनः आन्दोलनमा जान बाध्य भएको बताएको छ । संगठनले ३१ वैशाखसम्मका संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।
२७ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने
२८ वैशाख लिपुलेक समेटिएको भारतीय नक्सा जलाउने
२९ वैशाख देशभक्त तथा राष्ट्रवादीसहितको संयुक्त बिरोध प्रदर्शन
३० वैशाख मशाल जुलुस
२१ वैशाखदेखि भारतीय नम्बर प्लेटका गाडीहरू सञ्चालनमा प्रतिबन्ध लगाउने

बाइलाइन नेपाल











